लक्ष्य अघिनै बन्यो ओखरबोट स्वास्थ्य चौकीको भवन

साधन राम्जाली /विकल्प न्यूज
असार २४ गते । okharboot helth postजिल्लाको मालीका गाउँपालिका ४ च्युरिबोट स्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा सञ्चालीत भवन निर्माण योजना लक्ष्य भन्दा तिन महिना अघिनै सम्पन्न भएको हो । १५ महिनामा भवन बनाउने सम्झौता भएपनि १२ महिनामा भवन बनाएको वडा अध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो ।

पूर्वाधार योजनाहरु ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जय लक्ष्मी जेभीले ईच्छाशक्ती, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताउनुभयो ।

१७ सैया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य वि.स २०७४ साउनमा सुरु भएको थियो । एक करोड २६ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पुरा गरेर भवन डिभिजन मार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताउनुभयो ।

कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामाग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । डिभिजन कार्यालय, व्यवस्थापन समिति, जनप्रतिनिधि र समुदायको सक्रिय सहयोग पाएको उहाँको भनाई छ ।

भुकम्प प्रतिरोधी क्षमताको अपाङगमैत्री भवनको भुई तलामा उपचार, प्रशासन, प्रयोगशाला, प्रसुती, औषधि भण्डार कक्ष छन् । माथिल्लो तलामा स्वास्थ्यकर्मीको लागि दुई परिवार क्षमताको आवास कोठा बनाइएको छ । तारबार लगाएर घेराउ गरिएको भवन परिसरमा प्रवेशद्धार निर्माण भएको छ ।

नयाँ भवन हस्तान्तरण भएपछि स्वास्थ्य चौकी स्थानान्तरण गरिने प्रमुख शम्भु श्रेष्ठले बताउनुभयो । हाल सिद्धार्थ मावीको पुरानो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हँुदै आएको छ । व्यवस्थित भवन र पूर्वाधार अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । सुबिधासम्पन्न भवन निर्माण भएपछि सेवाप्रवाहमा सहज र सुधार आउने अपेक्षा गरिएको स्थानीयबासी रेशम पुनमगरले बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय दुई व्यक्तिले १२ लाख पचास हजार रुपैयाँ मूल्य बराबरको साढे चार रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको थियो । प्रेमबहादुर घर्तीले ५ रोपनी ५ आना र गणेशबहादुर घर्तीले ११ आना जग्गा निशुल्क उपलब्ध गराउनुभएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्व अध्यक्ष तमबहादुर पुनले बताउनुभयो ।