जलजलामा करिब ३८ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २३ असार ।                    मिलनचोक–जलजला केबलकारको परिकल्पना

jaljala officeसडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करिब ३८ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ ।

लामाखेत स्थित गाउँपालिकाको केन्द्रमा जारी चौथो गाउँसभामा शुक्रबार उपाध्यक्ष सिमा गर्बुजा (पुन)ले ३७ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । संघीय सरकारबाट १३ करोड ४९ लाख ६५ हजार, प्रदेश सरकारबाट एक करोड ३७ लाख, सामाजिक सुरक्षा अनुदान चार करोड पचास लाख, चालु आर्थिक वर्षमा खर्च हुन नसकेको र आन्तरीक स्रोतबाट तिन करोड एक लाख पैतीस हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

चालु तर्फ चार करोड पचास लाख बजेट बिनियोजन गरेको जलजलाले कृषिमा पचास लाख, पशु विकासमा चालीस लाख, शिक्षामा पच्चीस लाख र स्वास्थ्यमा पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । पुजीगततर्फ १२ करोड आठ लाख बिनियोजन भएको छ । ९ वटा वडाबाट प्रस्तावित योजना तथा कार्यक्रमका लागि तिस लाखका दरले दुई करोड सत्तरी लाख छुट्टाइएको छ ।

गाउँपालिकाको केन्द्रको जग्गा खरिदका लागि एक करोड, मोहनचोक फड्केढुङगा ग्रामिण सडक कालोपत्रे तथा ढलानका लागि उनान्सय लाख, नाग्लीवाङ सडकलाई चालीस लाख, पचभैया वर्षेवन देविथान मन्दिरलाई ३६ लाख, थामा रातोमाटा भोटेडाँडा सडकलाई पचास लाख, मिलनचोक लेकफाँट सडकलाई बिस लाख, बेनी मल्लाज लेकफाँट ग्रामिण सडकलाई बिस लाख रुपैयाँ बिनियोजन भएको छ ।

शसर्त अनुदानतर्फ सौर्य उर्जा प्रबिधी जडान गर्न चार लाख ७३ हजार, जलवायु अनुकुलन कार्यक्रमका लागि बिस लाख छुट्टीएको छ । जलजला सिमसारको डिपीआर बनाउन दश लाख, लैङ्गीक हिंशामुक्त वडालाई तिन लाख, फोहोर ब्यवस्थापनका लागि ट्याक्टर खरिद गर्न बिस लाख, विद्यालयमा खानेपानी योजनाका लागि पन्ध्र लाख र युरोगार्डको व्यवस्था गर्न दश लाख बिनियोजन भएको छ ।

युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न दश लाख बिनियोजन गरेको जलजला गाउँपालिकाले टपरी उद्योग स्थापनाका लागि एक लाख छुट्टाएको छ । असार १५ गते सुरु भएको गाउँसभामा अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले तरकारी, आलु, खाद्यबाली, सुन्तला खेती, दूध उत्पादनका लागि गाईभैसी र मासुका लागि बाख्रा पालनको प्रशस्त सम्भावना बोकेको जलजला गाउँपालिकामा उत्पादीत कृषि उपजको बजारीकरण तथा स्थानीयबासीको सुबिधाका लागि चक्रपथ, सबै वडा जोड्ने सडक बाह्ै महिना सञ्चालन गर्न जोड दिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

ग्रामिण सडकको स्तरोन्नतीका लागि गाउँपालिका स्तरीय सडक गुरुयोजना तयार पार्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि उत्पादन वृद्धिका लागि प्रदेश र संघीय सरकारसंग समन्वय गरेर सिँचाई सुबिधा विस्तारमा जोड दिने अध्यक्ष मल्लले बताउनुभयो । धाईरिङ्गको मिलनचोकदेखि जलजलासम्म काठमाडौको चन्द्रगिरी मोडेलमा केवुलकारको निर्माण गर्न सम्भाव्यत्ता अध्ययन, सर्वे, डिजाईन र लगानीकर्ताको खोजी गरिने अध्यक्ष मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

केवलकारको व्यवस्था गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउनका लागि आगामी वर्ष प्राविधिकबाट संभाव्यता अध्ययन सुरु गरिने उहाँले बताउनुभयो । आगामी ५ वर्षभित्र सबै घरमा निजी धारा जडान गरेर खानेपानी सुबिधा उपलब्ध गराउने लक्ष्य राखेको गाउँपालिकाले १५ शैया क्षमताको अस्पताल बनाउने योजना अघि सारेको छ । आलु र सुन्तला भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड) स्टोर बनाउने भएको छ ।

गरिवी न्युनीकरणका लागि लागि वित्तिय संघ÷संस्था, सहकारीसंगै वाँसखर्क, लेकफाँट, शालिजा र धाईरिङ्गमा हाल सामुदायिक विकास कोष मार्फत सञ्चालन हुँदै आएको घुम्तीकोष परिचालन गरि “महिला, बालबालिका, दलित, गरिव, अपाङ्गता भएका ब्यक्तिहरु, लगायत लक्षित बर्गसँग जलजला गाउँपालिकाका अध्यक्ष हातेमालो कार्यक्रम” सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँसभाले बजेट पारित गरेपछि आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।