दरबाङमा सार्वजनिक सुनुवाई

प्रताप बानियाँ /दरबाङ
म्याग्दी, असार १८ गते । IMG_8608 पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र संगम म्याग्दीको व्यवस्थापन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई गरिएको हो ।
चालु आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिका तथा वडा कार्यालय र जिल्लास्थित विषयगत कार्यालयहरुबाट सञ्चालन भएका विकासे गतिविधिहरु, सार्वजनिक सेवा प्रवाह, सञ्चालित योजनाको अवस्थाबारे सर्वसाधारणहरुको सुझाव तथा अपेक्षा सङ्कलन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागीहरुले नदी तटबन्ध, स्वास्थ्य, कृषि, वन तथा वातावरण, शिक्षा, विद्युत, सडक, भवन निर्माणका विषयमा जिज्ञासा राखेका थिए ।IMG_8619

कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सार्वजनिक सुनुवाई कार्यक्रम सुशासनको एउटा बलियो औजार भएको बताएका छन् । उनले सार्वजनिक सेवा प्रवाहलाई सुशासन कायम गर्न, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने सरकारको अभियान रहेको बताउँदै पछिल्लो समय भित्रिएको प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवासुविधाको उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । निर्माणकार्य समयमै सम्पन्न गर्नुपर्ने र विपद्को अवस्थामा सबै ठाउँमा दमकल पुग्न सक्ने सडकको निर्माण गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्थानीयको समस्यालाई गाउँपालिकामार्फत क्रमशः सम्बोधन गरिने बताए । उनले गाउँपालिका अन्तर्गतका वडामा रहेको विद्युत, खानेपानी, सडक, विद्यालय, स्वास्थ्य, कृषिसम्बन्धी समस्याको समाधानमा जनप्रतिनिधि र गाउँपालिका लागिपरेको भन्दै गाउँपालिकाले बनाएको नीतिनियम र ऐनलाई सबैले पालना गर्नुपर्ने बताएका थिए ।

लक्षित वर्गसँग सम्बन्धित तथा सफ्टवयरका कार्यक्रमहरु पनि सञ्चालन गरिने भन्दै अध्यक्ष रोकाले सबैलाई समेटर बजेट, नीति तथा कार्यक्रम बनाइएको तथा बसपार्क व्यवस्थापनको वैकल्पिक उपाय खोजिएको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले गौरवका योजनाहरु सञ्चालन गरेर गाउँपालिकालाई समृद्धिको अभियानतर्फ उन्मुख गराइने बताइन् । उनले सबै क्षेत्र, वर्ग र लिङ्गलाई समावेश गरेर बजेट तथा नीति कार्यक्रम परिचालन गरिएको बताउँदै सचेतना र आयआर्जनका क्षेत्रलाई पनि जोड दिइएको बताइन् ।

उनले दरबाङ बजार क्षेत्रलाई जोगाउन म्याग्दीखोलामा तटबन्ध निर्माणका लागि म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भूपेन्द्र थापाको पहलमा बजेट परिचालन गरिएको बताएकी छिन् ।
प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले वन्यजन्तु जनावर तथा पशुपंक्षी मार्न नपाइने बताउँदै मारेको पाइएमा कानुन अनुसार कडा कार्वाही हुने बताए ।

उनले जिल्लाको गाउँगाउँमा उत्पादन हुने अवैध घरेलु मदिरालाई नियन्त्रण गरिने बताउँदै रातको समयमा लगाइने तथा लामो अवधिका मेला, पर्वलाई समेत नियन्त्रण गरिने बताएका छन् ।

उनले सरोकारवालासँग मिलेर समाजमा अपराध न्युनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुने जानकारी गराए ।
कार्यक्रममा सहभागी गोपाल गौतम, दिवाकर सुवेदी, छवि विश्वकर्मा, कृष्णप्रसाद आचार्य, भगबहादुर घर्तीमगर, पटबहादुर रोका, पवित्रा विक, प्रेमबहादुर पटेल, सोमबहादुर केसी, दमबहादुर घर्तीमगर, धुर्व सुवेदी, हरिप्रसाद पौडेल, वेदप्रसाद सुवेदी र सनम परियारले जिज्ञासा राखेका थिए ।

यसैगरी सामाजिक सन्जाल फेसबुकमार्फत काजीमान बुढामगर, सीता पुन र कुल शेरपुञ्जाले पनि प्रश्न गरेका थिए ।

सहभागीहरुले उठाएको प्रश्नको गाउँपालिका अध्यक्ष रोका, उपाध्यक्ष बिटालु, प्रजिअ अधिकारी, प्रनाउ बुढामगर, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, सहायक वन अधिकृत बिमला लम्साल, विद्युत प्राधिकरण प्रमुख नेत्रमणि न्यौपाने, वडा अध्यक्ष सन्तनाथ सुवेदी, डा. कृष्ण कँडेलले जवाफ दिएका थिए ।
कार्यक्रममा मालिका–६, दरबाङका अध्यक्ष सन्तनाथ सुवेदीले चालु आवमा वडा कार्यालयमार्फत सञ्चालित योजनाहरुको बारेमा जानकारी गराएका थिएभने संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको स्वागत र वडा सचिव सोमबहादुर केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष एवं पत्रकार गोपाल छन्त्याल र प्रताप बानियाँले सहजीकरण गरेका थिए ।