रुमको स्लेट खानीलाई व्यवस्थित गर्न माग

कमल खत्री, राकेश शर्मा
रुम १७ असार । Ruma (3)

म्याग्दीको मालीका गाउँपालिका २ रुममा रहेको स्लेट खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न स्थानीयबासीले माग गरेका छन् । गाउँपालिकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले शनिबार वडा कार्यालयमा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले स्लेट खानीलाई स्पष्ट कानुनी ब्यवस्था गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न माग गरेका हुन् ।

स्थानीयबासीले वडा र गाउँपालिकामा पर्याप्त जनशक्तिको व्यवस्था गरेर नियमित बसेर काम गर्ने वातावरण बनाउन, योजना सञ्चालन गर्नुअघि उपभोक्ता समितिका पदाधीकारीहरुलाई तालीमको व्यवस्था गर्न, स्वास्थ्य चौकीको भवन निर्माण र अदिभारा रुम सडक स्तरोन्नतीमा प्राथमिकता दिन सुझाव दिएका छन् ।

सडक खन्दा लालपुर्जा धितो राखेर लिएको ऋण तिर्न नसक्दा समस्यामा परेको पिडा पोखेका थिए । गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र वडा अध्यक्ष नरबहादुर पुनले भौगोलिक रुपमा बिकट र दुर्गम रुममा बजेट बिनियोजनका क्रममा प्राथमिकता दिएको बताउँदै बजेटको सदुपयोग गरेर विकासमा सहभागी हुन स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष रोकाले प्रदेश सरकार र स्थानीयबासीसंग समन्वय गरेर रुमको स्लेट खानी सञ्चालन गर्न पहल गरिएको बताउनुभयो । म्याग्दी मिडिया सोसाईटीका पत्रकार कमल खत्री र राकेश शर्माले सुनुवाईको सहजिकरण गर्नुभएको थियो ।

वडा अध्यक्ष नरबहादुर पुनको अध्यक्षता, सामाजिक परिचालक सिता पुनको सञ्चालन र वडा सचिव रुद्रबहादुर बिकको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संगम म्याग्दीका सन्तोष ढुंगानाले सार्वजनीक सुनुवाईको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।