विकल्प / मालिका
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको अदिभारामा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका विकास योजना, कार्यक्रम, प्रवाह गरिएका सेवासुविधाबारे हरेक वडामा सार्वजनिक सुनुवाई गर्ने क्रममा अदिभारामा कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना, संगम म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीयले सडक सञ्जालको भरपर्दो व्यवस्था, रोजगारमुलक कार्यक्रम, गुणस्तरीय शिक्षा र विद्युत्को व्यवस्था गर्न माग गरेका थिए ।
पर्याप्त कर्मचारी नहुँदा भनेको समयमा काम नहुने, भुक्तानी प्रक्रिया ज्यादै झन्झटिलो भएको भन्दै उनीहरुले गाउँपालिकाको सेवालाई थप प्रभावकारी र छरितो बनाइनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वडाका अगुवा पदम बहादुर पुनले दरबाङ–अदिभारा हुदै डाँडागाउँ जोड्ने सडकलाई गौरबको आयोजना समावेश गर्न माग गरे ।
मोहनराज सापकोटाले स्थानीयस्तरमै रोजगारीको व्यवस्थाका लागि संभावनाको खोजी गर्न आग्रह गर्दै जडिबुटी, वनजँगलको अधिकतम प्रयोगको नीति अबलम्बन गरिनुपर्नेमा जोड दिए ।
लाल प्रसाद विक, भीमप्रसाद नगरकोटीले राष्ट्रिय प्रशारण लाइनको पहुँच भन्दा बाहिर रहेको डाँडागाउँमा जतिसके छिटो उक्त सुविधा पु¥याउनुपर्ने माग गर्दै अदिभाराको तटबन्धलाई उपयुक्त बजेट विनीयोजन गर्न आग्रह गरेका थिए ।
स्थानीयको प्रश्नको जवाफ दिदै गाउँपालिका प्रमुख श्री प्रसाद रोकाले चालु आबमै दरवाङ–अदिभारा–डाँडागाउँ सडक जोडिएको भन्दै त्यसको स्तरोन्नतिका लागि ध्यान दिईने बताए ।
रोजगारीको अवसर सिर्जनाका लागि स्थानीय उद्यमीहरु तयार पार्नुपर्ने भन्दै त्यसका लागि पर्याप्त बजेट विनीयोजन गरिने बताए ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले हरेक वडालाई समेट्न गौरबको आयोजना तयार पारिएको भन्दै आगामी बर्ष त्यसको उत्कृष्ट परिणाम देखिने बताइन् । वडा सचिब श्रीराम शर्माले चालु आर्थिक बर्षमा वडा कार्यालय मार्फत सञ्चालित योजना र त्यसको उपलब्धीबारे जानकारी गराएका थिए ।
वडा नं ३ का कार्यबाहक अध्यक्ष ओम बहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय यामबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।
संगम म्याग्दीका सहजकर्ता हिरा शर्मा संघर्षले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण पत्रकार तथा म्याग्दी मिडिया सोसाइटीका कोषाध्यक्ष ठाकुर प्रसाद आचार्य र पत्रकार घनश्याम खड्काले गरेका थिए ।