प्रदेशबाट म्याग्दीको पूर्वाधार विकासलाई तिस करोड

विकल्प न्यूज/बेनी
असार १० गते ।beni प्रदेश ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि म्याग्दीका पूर्वाधार विकास सम्बन्धि योजनामा करिब तिस करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान तथा पहिरो नियन्त्रण र पर्यटन क्षेत्रको पूर्वाधार निर्माण योजनाका लागि उक्त बजेट बिनियोजन भएको प्रदेशसभा सदस्य बिनोद केसीले जानकारी दिनुभयो । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास मन्त्री नरदेवी पुन र क्षेत्र (क) बाट निर्वाचित सांसद केसीको पहलमा उक्त बजेट भित्रिएको हो ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेट बिहीबारको संसद बैठकबाट पारित भएपछि रातो किताब (रेडबुक) मा उल्लेख भई कार्यान्वयनको बाटो खुलेको सांसद केसीले बताउनुभयो । भवन, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदसँग सम्बन्धित योजनामा थप बजेट बिनियोजन हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
सडक तथा मोटरेबल र झोलुङ्गे पुलका लागि सबै भन्दा बढी २१ करोड ९३ लाख, सिँचाईमा तिन करोड, खानेपानीमा दुई करोड ७० लाख, पर्यटनमा एक करोड, पहिरो नियन्त्रणमा सत्तरी लाख र नदी नियन्त्रणमा ९५ लाख रुपैयाँ बिनियोजन भएको छ ।

प्रदेश सरकारले म्याग्दीमा चार वटा मोटरेबल पुल बनाउन पचहत्तर लाख रुपैयाँका दरले तिन करोड बिनियोजन गरेको छ । बिम–मराङ सडकको अर्गला स्थित मराङखोला, दरवाङ–बिम–ताकम सडक अन्तरगत म्याग्दी खोला, दरवाङ दाङखोला धारापनी ताकम सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल निर्माण हुने भएको हो ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ र १ नम्बर वडा निस्कोटको सीमाना छ्यार छ्यारेमा बेलीब्रिज बनाउन ७५ लाख रुपैयाँ बजेट परेको छ । यसअघिनै डिपीआर तयार भैसकेको गलेश्वर देखि पिप्ले भगवती हँुदै बेगखोला जोड्ने सडक कालोपत्रे गर्न दुई करोड दश लाख रुपैयाँ बिनियोजन भएको छ भने सोही सडकलाई अर्को शिर्षकमा थप पचास लाख रुपैयाँ बजेट परेको छ ।
बागलुङको गल्कोट देखि ताराखोला हँुदै म्याग्दीको मालीका गाउँपालीकाको रुमलाई सडकले जोड्न दुई करोड दश लाख र दरवाङ बिम ताकम सडकको पहिलो खण्डलाई दुई करोड दश लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

दरवाङ देखि देविस्थान हँुदै ताकम जोड्ने सडकलाई एक करोड ३५ लाख रुपैयाँ छुट्टीएको छ । पर्वतको कुश्मा दुर्लुङ बाजुङ लेसपार शालीजा हँुदै म्याग्दीको नांगी जोड्ने, दरवाङ कल्लेनी ताकम लमसुङ ढोरपाटन, दरवाङ दाङखोला धारापानी ताकम मुना लुलाङ गुर्जा, दरवाङ बिम मराङ मल्कवाङ हुँदै पाखापानी जोड्ने र मौवाफाँट दग्नाम चिमखोला हँुदै कुईनेमंगले सडक (दुई वटा शिर्षक)मा एक\एक करोड बिनियोजन भएको छ ।

बेनी बगरफाँट लोप्रो राम्चे म्याग्दी पर्वत जोड्ने सडकलाई तिस लाख, बेनी पाखापानी मल्कवाङ सडकलाई पचास लाख, वारीबेनी माझफाँट लेकफाँट फलामेडाँडा हँुदै नांगी जोड्ने सडकलाई बिस लाख, महभिर दोसल्ले रिम काफलडाँडा राम्चे नागी सडकलाई पचास लाख, मिलनचोक शालीजा काफलडाँडा जोड्ने सडकलाई बिस लाख, मिलनचोक खोलाखेत लेकफाँट शालीजा लोप्रे नागी सडकलाई बिस लाख, रत्नेचौर ज्यामरुककोट भकिम्ली बरंजा सडकलाई पचास लाख, बिम मराङ ठाडाखानी सडकलाई पचास लाख, शालिग्राम कोरीडोर अन्तरगत मालढुङा–बेनी सडकलाई पचास लाख, हाँडेभिर बगरफाँट सुर्केमेला बरंजा सडकलाई पचास लाख र ताकम ढोरपाटन सडकको डिपीआर तयार पार्न पन्ध्र लाख बिनियोजन भएको छ । मंगला गाउँपालिका १ कुहुँको खोलाखर्क र बाबियाचौरको सिमलचौर लुलीयाघाट झोलुङगे पुललाई ११ हजार रुपैयाँका दरले बजेट छुट्टीएको छ ।

अन्नपूर्ण गाउँपालिका २ को जारखोला सिँचाई आयोजनालाई साठी लाख, पुलाचौरको मुल गोणेला डिही चालिसे सिँचाई योजनालाई पचास लाख, रघुगंगा गाउँपालिकाको भगवतीमा कालीगण्डकीबाट रुइसेमा लिफ्ट सिँचाई योजना बनाउन तिस लाख, राखु पिप्ले लिफ्ट सिँचाई, मंगलाको भाईवाङ सिँचाई योजना, कुहुँको रातोखोला भर्जुला र बेनपाको ३ र ४ नम्बर वडामा पर्ने बालमखोला थामडाँडा सिँचाई योजनालाई ४०\४० लाखका दरले बजेट बिनियोजन भएको हो ।

अन्नपूर्ण गाउँपालिका ३ दानाको घट्टेखोला र मालिका गाउँपालिकाको रितुङ खोला नदी नियन्त्रण योजनालाई बिस बिस लाख तथा पात्लेखेत पहिरो नियन्त्रण योजनालाई तिस लाख बजेट बिनियोजन भएको छ । आपतकालीन तथा बाढी पहिरो पुन स्थापना कार्यक्रमका लागि दश लाख, गलेश्वर संरक्षण योजनालाई तिस लाख, लुलाङको पहिरो नियन्त्रण योजनालाई तिस लाख र बेनी बजार संरक्षणका लागि पच्चिस लाख रुपैयाँ छुट्टिएको छ ।

चिमखोला मुहान दग्नाम पिप्ले भगवती खानेपानी योजनालाई पचास लाख, कुहुँ, दोवा, अन्नपूर्ण गाउँपालिकाको चित्रे, भर्जुला खानेपानी योजनालाई चालीस चालीस लाख, रुमको सेतखोला बेली र चिमखोला भगवती बृहत खानेपानी योजनालाई तिस लाख बिनियोजन भएको छ । रुप्से अन्धगल्छी पर्यटन गुरुयोजना कार्यन्वयन लगायतका पर्यटन पूर्वाधार योजनाका लागि एक करोड बिनियोजन भएको प्रदेश सांसद केसीले बताउनुभयो ।

सडक, जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन, सिँचाई विकास, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत योजना कार्यान्वयन हुने जनाइएको छ । प्रदेश सरकारमा म्याग्दीका सांसद मन्त्री समेत भएकाले यसपाली बजेट बिनियोजनमा प्राथमिकता पाएको बताइएको छ ।