अबैध रुपमा बालुवा उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई जरीवाना

विकल्प न्यूज/बेनी
असार ९ गते । jilla-parshanम्याग्दी नदीबाट अवैध तरिकाले नदीजन्य वस्तुको उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई ५७ हजार पाँचसय रुपियाँ जरिवाना गरिएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला अनुगमन समितिको वैठकले मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलाबाङ क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् र चोरी निकासीमा प्रयोग भएका स्काभेटर र ट्याक्टरलाई जरीवाना गर्ने निर्णय भएको हो ।

अवैध तरिकाले नदीबाट बालुवा,ढुङ्गा र नदीजन्य प्रदार्थ निकाल्न प्रयोग भएका ग १ क २४६८ नम्बरको एक्साभेटरलाई ३५ हजार र ढुवानी गर्न लागिएको बालुवा सहित ग १ त ५२३३, ग १ त २८०७ र ध १ त ३२४ नम्बरको ट्याक्टरलाई सात हजार पाँचसय रुपियाँ जरिवाना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भन्दै विहिवार प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका साधनलाई छाड्न स्थानीय तहका जनप्रतिनिधिहरुले दवाव दिएपनि कानुन अनुसार कारवाही गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

चालु आर्थिक वर्षसम्म नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि जिल्ला समन्वय समितिबाट अनुमती लिनुपर्ने नीतिगत व्यवस्था छ । असार, साउन र भदौ महिनामा नदीजन्य बस्तुको उत्खनन्,ओसारपसार र भण्डारण गर्न रोक लगाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको सहायक प्रजिअ शोभाखर पोखरेलले बताउनुभयो ।

तोलावाङ रातोढुङ्गा क्षेत्रमा चालु आर्थिक वर्षका लागि नदीजन्य बस्तुको उत्खनन्का लागि ठेक्का नलागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई जरीवाना र जफत भएको बालुवा लिलामीबाट बिक्री गर्नुपर्ने व्यवस्था छ ।

नदीजन्य बस्तुको उत्खनन्मा संलग्नले दुखु खोलाको मोटरेबल पुल र रातोढुङ्गा सब स्टेशनको निर्माण कार्यलाई सहज बनाउन स्थानीय स्तरमै बालुवा उत्खनन् गरेको दावी गरेका छन् । यसअघि बेनी नगरपालिका १ आनन्दबगरमा स्थानीय सभेनस्टार युवा क्लबले बस्ती संरक्षण र खेलमैदान विस्तारको बाहनामा अबैध रुपमा उत्खनन गरेको बालुवा जफत गरेर नगरपालिका मार्फत लिलामी प्रक्रियामा लगीएको छ ।