कालीगण्डकी गर्ज चिनीया लगानीमा निर्माण हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ असार । DSC_0134१६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत आयोजना चिनीया लगानीमा निर्माण हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणका क्रममा बुधबार बेईजिङ स्थित नेपाली दुतावासमा आयोजनाको प्रर्वद्धक र चिनीया कम्पनीबीच लगानीको सम्झौतामा हस्ताक्षर भएको हो ।
हाईड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाईड्रो पावर प्रा.लीका प्रतिनिधिबीच लगानी सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको कालीगण्डकी गर्जले गति लिने अपेक्षा गरीएको छ । म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्ने उद्देश्यले वि.स २०६३मा आयोजनाको सर्वेक्षण भएको थियो ।

लामो समयदेखि प्रतिक्षामा रहेको कालीगण्डकी गर्जमा चिनीया लगानी भित्र्नु म्याग्दीको उर्जा क्षेत्रमा गौरवको विषय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । लगानीकर्ता र प्रर्वद्धकलाई सुरक्षाको प्रत्याभुत, सामाजिक वातावरण र प्रक्रियागत झञ्जटबाट मुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

वि.स २०६८ पुष १९ गते उत्पादन अनुमतीपत्रका लागि विद्युत विकास बिभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पुरा नगरेपछि लाईसेन्सनै रद्द भएको थियो । पुरानो लाईसेन्स रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुन सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

सन २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने पहिलेको लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालीकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालीका ४ नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना रन अफ द रिभर प्रकृतीको हो ।

पच्चिस अर्ब रुपैया लागन अनुमान गरिएको आयोजनाले नारच्याङमा तिन करोड रुपैया मुआब्जा दिएर तिन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्रीको ओलीको चिन भ्रमणका क्रममा कालीगण्डकी गर्जसंगै ६०० मेगावाटको मनाङ मस्याङदी लगायत ८७९ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजनाका लागि चिनीया लगानीकर्तासंग सम्झौता भएको छ ।