फेरी सुरु भयो रघुगंगा जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी
असार ६ गते । raguganga aayojanaफाइल तस्विर

म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रघुगंगा जलविद्युत आयोजना ४ वर्ष पछि फेरी सुरु गरिएको छ । यसअघि छनौट भएका भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमताको आयोजना निर्माणको ठेक्का सम्झौता भएको छ महिनापछि ठेकेदारले काम सुरु गरेको हो ।

छ अर्व रुपियाँ ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एसोसियट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम सुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो ।
“ऋण लगानीकर्ता भारतीय एक्जीम बैङ्कले ठेक्का सम्झौताको स्विकृति दिएको जेठ १० गतेको भोलिपल्टनै हामीले ठेकेदारलाई नोटीस टु प्रोग्रेस लेटर दिएका थियौ” पाण्डेले भन्नुभयो “ठेकेदार कम्पनीले डिजाईन र व्यवस्थापनको काम सुरु गरेको छ ।”

सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युतगृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाउने जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा ईलेक्ट्रीमेकानीक ठेक्काको प्रक्रिया समेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

२०७४ मंसिर ५ गते भएको ठेक्का सम्झौताको स्वीकृतिका लागि एक्जीम बैङ्कले छ महिना लगाउँदा ढिलाई भएको हो । बैंकको ४४ मिलीयन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताउनुभयो ।

आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो ।

यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाइ निर्माण सुरु हुन लागेको हो ।

कार्य तालिका र सम्झौता अनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक दुइ सय ८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ ।

आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झी र दग्नाममा पर्छ । झिँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आईभीआरसीएलले प्रारम्भिक चरणको काम समेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो ।