जलजलामा एकिकृत सम्पत्ति कर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ असार । Jaljala (2)जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ देखि एकिकृत सम्पत्ति कर लागू गर्ने तयारी गरेको छ । गाउँपालिका घर र भौतिक संरचनाहरुलाई करको दायरामा ल्याउन लागीएको छ ।

सम्पत्तिको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने भएकाले एकिकृत सम्पत्तिकर वैज्ञानीक र बढी न्यायोचित हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।
करले गाउँपालिकाको आन्तरिक आयस्रोत वृद्धि भई विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । आगामी गाउँसभाबाट एकिकृत सम्पत्ती करको दर निर्धारण गरी लागु गराउने तयारी भएको छ । एकिकृत सम्पत्ति कर लागु गर्न पुर्व तयारीका लागि गाउँपालिकाको केन्द्र लामाखेतमा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ ।

सम्पत्ति करको दर निर्धारण र कार्यान्वयन प्रक्रियाको विषयमा जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुषाल र लोक सेवा कार्यालय बागलुङका प्रमुख गणेश पौडेले सहजिकरण गर्नुभएको छ । वडा न. ४ का अध्यक्ष भिष्म मल्लको अध्यक्षतामा मंगलबार सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबारसम्म चल्ने जनाइएको छ ।

यसैबीच जलजला गाउँपालिकाले यही असार मसान्तसम्म दर्ता भएका उद्योग, व्यवसाय र पसललाई दुई वर्षको नविकरण शूल्कमा छुट दिने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको बैठकले २०७५ असार मसान्तसम्म दर्ता भएका व्यवसायलाई आर्थिक वर्ष २०७६÷७७ सम्मको नविकरण भएको मानेर छुट सुबिधा दिने निर्णय गरेको हो ।