ताजा समाचार:
Search

११ महिना चुपचाप वसेका कर्मचारी असार लागेपछि सक्रिय

सन्तोष गौतम/विकल्प न्यूज
मौवाफाँट ५ असार । IMG_4888चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ ।

विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारिक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बसेका कर्मचारीहरु असार लागेसंगै एकाएक सक्रिय बनेका छन् ।

जिल्ला समन्वय समितिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सञ्चालन गरेको तिन दिने स्थानीय सरकार सञ्चालन सम्बन्धि तालीम आर्थिक वर्षको अन्तमा बजेट सक्ने उद्देश्यले मात्र गरिने औपचारीक कार्यक्रमको नमुना बनेको छ ।

मालिका, मंगला, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा सञ्चालन भैसकेको तालीम सोमबारदेखि धौलागिरी र रघुगंगा गाउँपालिकामा सुरु भएको छ । जिससले आयोजना गरेको तालीममा सहभागी हुन रघुगंगाको केन्द्र मौवाफाँटमा उपस्थित भएका जनप्रतिनिधिहरुले एउटै किसीमको तालीम पटक पटक दिदाँ हैरान भएको गुनासो गरेका छन् ।
असार १० गतेभित्र ल्याउने बजेटमा बस्ती, वडा स्तरबाट छनौट भएका योजनालाई प्राथमिकीकरण गरी विषयगत समितिमा छलफल गर्नुपर्ने समयमा जिससले तालीम आयोजना गरेर भुलाएको रघुगंगा ८ का वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

जिससले अहिले सञ्चालन गरेको प्रकृतीको तालीम यसअघि स्थानीय तह आफैले आयोजना गरेका थिए । तालीम उपयोगी भएपनी समय नमिलेको जनप्रतिनिधिहरुले बताएका छन् । निर्वाचित हुनेवित्तिकै आवश्यक पर्ने तालीम एक वर्षपछि सञ्चालन गरेर बजेट सक्ने भन्दा अन्य उपलब्धि नहुने बताइएको छ ।

जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाखको अन्तिम साता पठाएको कार्यक्रम जेठको पहिलो हप्तादेखि सुरु गरेको बताउनुभयो । मन्त्रालयलेनै ढिला कार्यक्रम पठाएकाले समस्या भएको बताउनुभयो । उहाँका अनुसार असार महिनाभित्रनै जिससले सार्वजनीक खरिद ऐन, न्यायीक समितिको लागि समेत तालीम सञ्चालन गर्दैछ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आर्थिक वर्षको अन्तमा मन्त्रालय र विभागहरुले कार्यालय प्रमुख, जनप्रतिनिधिहरुलाई तालीममा बोलाउँदा सार्वजनिक सेवा प्रवाह, योजना तथा बजेट निर्माण कार्य प्रभावित बनेको बताउनुभयो । आर्थिक वर्षको अन्तमा बजेट सक्नकै उद्देश्यले गरिने कार्यक्रमलाई निरुत्साहीत गर्नुपर्ने उहाँको भनाई छ ।