ताजा समाचार:
Search

२७ कराेडकाे बजेट ल्याउँदै अन्नपूर्ण

गोपाल छन्त्याल/बेनी

असार ४ गते । Annapurna Gaupalika Ko Officeम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले २७ करोड रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

असार १० गते स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउने संवैधानिक प्रावधान अनुसार अन्नपूर्णले २७ करोडको हाराहारीमा बजेटको तयारी गरेको हो ।

वडास्तरबाट योजना र कार्यक्रम प्राप्त भइसकेकोले विभिन्न समितिमा त्यसको छलफल, आन्तरिक आयको अनुमान लगायतका कार्य अन्तिम चरणमा पुगेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिए ।

उनका अनुसार, संघीय, प्रदेश सरकार र गाउँपालिकाको आन्तरिक आयलाई स्रोत बनाएर बजेट निर्माण भइरहेको छ । चालु आर्थिक बर्षमा ४४ लाख आन्तरिक आय अनुमान गरेको अन्नपूर्ण आगामी आर्थिक बर्षलाई दोब्बर भन्दा बढी अनुमान गर्ने भएको छ ।

पुनहिल, खोप्रा लगायतका पर्यटकीय क्षेत्रलाई पनि करको दायरामा ल्याउने तयारीका साथ गाउँपालिका आन्तरिक आयको अनुमान दोब्बर बनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दाहालले एक करोड १ लाख आन्तरिक आय, संघीय सरकारको वित्तीय सामान्यीकरणबाट ६ करोड, राजश्व बाँडफाँटबाट ५ करोड ४२ लाख, सशर्त अनुदानबाट १३ करोड ४९ लाख र प्रदेश सरकारबाट वित्तीय सामान्यीकरणलाई १ करोड ९ लाख र चालु आर्थिक बर्षको अल्या ६० लाख रुपैयाँ गरि २७ करोड ६२ लाख रुपैयाँको बजेट अनुमान गरिएको जानकारी दिए ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा प्रगति देखिने गरि भौतिक संरचनामा लगानी बढाउने योजना बनाएको छ । अभियानकै रुपमा व्यवसायी कर र प्राकृतिक स्रोतको खोजीमा ध्यान दिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गाउँपालिकाले सबै वडामा गौरबको आयोजना सञ्चालन गर्ने योजना बनाइरहेको बताए ।

उनले, शिक्षालाई पहिलो प्राथामिकता दिईएको समेत जानकारी दिए ।