ताजा समाचार:
Search

कहाँ जान्छ अस्पतालमा प्रशिक्षार्थीले बुझाउने शूल्क ?

विकल्प न्यूज/बेनी
असार ४ गते । Jilla Aaspatal Ra DHO Parisarबेनी अस्पतालमा प्रयोगात्मक अभ्यासको लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरुले बुझाउने शूल्कमा अपारदर्शीता भेटिएको छ ।

अस्पतालमा अभ्यासका लागि आएका हेल्ट एसिस्टेन्ट, अनमी, स्टाफ नर्स, ल्याब टेक्नीसियन अध्ययन गरिरहेका प्रशिक्षार्थी स्वास्थ्यकर्मीको बिवरणको अभिलेख नराख्ने र उनिहरुले तिरेको शूल्कको रसिद नदिँदा आर्थिक चलखेल भएको हो ।

तर कति प्रशिक्षार्थी आए र उनिहरुले कति शूल्क तिरे भन्ने विषयमा अस्पतालको प्रशासन, लेखाका कर्मचारी र विकास समितिका पदाधीकारी बेखबर छन् । अस्पतालका शैयामा बिरामी भन्दा बढी प्रशिक्षार्थीहरुको भिड लाग्ने गर्छ । न्युनतम वार्षिक तिन सय देखि चार सय जना प्रशिक्षार्थीहरु आउने गरेको कर्मचारीहरुको अनुमान छ । Beni Hospital (2)अस्पतालका लेखा अधिृकत रामप्रसाद शर्माले चालु आर्थिक बर्षमा ओजेटी गर्न आउनेहरुबाट २ लाख ७९ हजार रकम जम्मा भएको र यस मध्ये ४० हजार गत बर्षको शुल्क जम्मा भएको जानकारी दिनुभयो । अस्पतालमा अनियमितता भएको उजुरी परेपछि छानविनमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अभिलेख र हिसाव बिवरण माग्दा लेखा र प्रशासन शाखामा भेटिएको थिएन् ।

ल्याब, अन्तरंग र बहिरंग कक्षले अख्तियारलाई बुझाएको विवरण र लेखाको हिसाब मिलेको छैन् । शिक्षालय र व्यक्तिगत रुपमा शूल्क तिर्ने व्यवस्था छ । त्यसरी तिर्ने शूल्कको अस्पतालले रसिद समेत नदिएको पाइएको छ । शुल्क शिक्षालयले सिधै अस्पतालको खातामा जम्मा गरिदीने र अस्पतालबाट रसिद नकाटीने भएकाले को –को आए, गए, कति बुझाए भन्ने जानकारी नभएको लेखा प्रमुख शर्माले तर्क गर्नुभयो ।

हेल्थ असिस्टेण्टको लागि प्रतिव्यक्ति ३ हजार र अनमी तथा प्राविधिकहरुको लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्क लिने गरि शिक्षालयहरुसंग यसअघिका वर्षमा भएको सम्झौतालाई यस वर्ष पनी निरन्तरता दिने निर्णय अस्पताल विकास समितिले आर्थिक वर्षको सुरुमै गरेको थियो ।

‘‘बेनी अस्पतालमा आउनेको हकमा सबै शुल्क अस्पताल विकास समितिको खातामा जम्मा हुनुपर्छ, जिल्लाका अन्य स्वास्थ्य संस्थामा जानेको हकमा सम्बन्धित संस्थालाई ७५ प्रतिशत र विकास समितिलाई जानुपर्छ, अहिले जुन तवरले आर्थिक अपारदर्शीताको कुरा उठेपछि यस बिषयमा सम्बन्धित विद्यालयहरुसंग समेत सम्पर्क गरि बुझ्ने काम गरिरहेको छु,’’– अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीले भन्नुभयो ।

यस बिषयमा अनुसंधान गर्दा केही बिद्यालयहरुले ढिला गरि शुल्क पठाउने गरेको पाईएको र यो बर्ष अघिल्लो बर्षको ४० हजार रुपैया जम्मा भएको पाईएको रेग्मीले बताउनुभयो । आर्थिक पाटो अस्पताल विकास समितिसंग नजोडिने र समितिले नीति तथा समग्र व्यवस्थापनको लागि प्रयास गर्ने भएकाले प्रशासन र लेखा शाखा जवाफदेही बन्नुपर्ने अध्यक्ष रेग्मीले बताउनुभयो ।

प्रशिक्षार्थी स्वास्थ्यकर्मी र उनिहरुले बुझाएको शूल्कको विवरणको बारेमा जानकारी लिन अस्पतालमा पुग्दा प्रशासनका कर्मचारीले अनभिज्ञता प्रकट गरेका थिए । सेवा कालीन तालमिका लागि काठमाडौमा रहनुभएका अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपाने र निमित्त प्रमुख डाक्टर बिराट शर्मा सम्र्पकमा आउनै चाहनुभएन् ।

नेकपा निकट युवा र विद्यार्थी संगठनहरुले बेनी अस्पतालमा विभिन्न १७ वटा शिर्षकमा अनियमितता भएको आरोप सहित केही हप्ता अघि प्रशासन र अख्तियारमा उजुरी गरेका थिए । उजुरी लगत्तै छानविनको लागि आएको अख्यितारको टोलीले काजजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बेनी अस्पतालमा आर्थिक हिसाबले बग्रेल्ती बेथिति भेटिएको छ ।

बेनी अस्पतालको सेवा प्रवाह र अनियमिताको सम्बन्धमा ध्यानकर्षण सहितको उजुरी परेपछि सत्य तथ्य छानविन गरि शुसासन कायम गर्नको लागि आबश्यक अनुसन्धान गर्न अख्यितार दुरुपयोग अनुसंधान आयोगमा पठाईएको र आयोगले छानविन गरिरहेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

बेनी अस्पतालको अन्तरंग बिभागमा अभ्यास गर्दै प्रशिक्षार्थी स्वास्थ्यकर्मीहरु । तस्विर नवविकल्प