ताजा समाचार:
Search

सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ २७ जेठ । sisneri sadakम्याग्दीको मालिका गाउँपालिका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ ।  करिब साढे ४५ लाख रुपैयाँको लागतमा मालिका गाउँपालिका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हँुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सेञ्चुरीले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र दरवाङमा आवत जावत, निर्माण सामाग्री, खाद्यान्न, दैनिक उपभोग्य सामाग्री ढुवानीका साथै गाउँमा उत्पादन भएको कृषि उपज निकासीमा सहज भएको छ । भौगौलिक रुपमा बिकट क्षेत्रमा अवस्थीत सिस्नेरीमा सडक पुगेपछि पहिले दरवाङ पुग्न तिन घण्टा पैदल हिड्नुपर्ने बाटो एक घण्टामा छोटीएको स्थानीयबासी बालकुमार सुनारले बताउनुभयो ।

बिरामीलाई समयमै स्वास्थ्य संस्था र अस्पताल पु¥याउन सकिएको छ । सडक निर्माणका लागि स्थानीयबासी र प्रवासीले १२ लाख १५ हजार रुपैया सहयोग गरेका अध्यक्ष सेञ्चुरीले बताउनुभयो । सिस्नेरी हिलसाईड युवा क्लबले पचास हजार, आमा समूहले एक लाख र साविक ओखरबोट गाविसले दुई लाख असी हजार सहयोग गरेका छन् ।

जिल्ला समन्वय समितिले स्रोत सुनिश्चितता मार्फत बिस लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत तिन लाख उपलब्ध गराएको योजनालाई विस्तार गर्न चालु आर्थिक वर्षमा वडाको प्रस्तावमा गाउँपालीकाबाट छ लाख उपलब्ध गराइएको वडा अध्यक्ष दिलीपकुमार शेरचनले बताउनुभयो ।

छ देखि दश मिटर चौडाई भएको सडकमा माईक्रोबस, जिप, ट्याक्टर, मोटरसाईकल सञ्चालन हुने गरेका छन् । यो सडकलाई थप तिन किलोमिटर विस्तार गरेर तमानखोला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित सोल डाडाँसम्म जोडिनेछ । तमानखोला गाउँपालिकाले नर्जासम्म खनेको सडकलाई ढोरपाटन सम्म विस्तार गर्ने काम सुरु गरेको छ ।

ढोरपाटनसंग जोडिएमा यो सडक मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तीवाङ खण्ड भन्दा छोटो र बैकल्पीक मार्ग बन्ने वडा अध्यक्ष शेरचनले बताउनुभयो । तमानखोला गाउँपालीकासंग समन्वय गरेर ढोरपाटनसम्म विस्तार र सोले खवाङ खण्डलाई पूर्णता दिइने मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।