दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहयोग

विकल्प न्युज । बेनी

जेठ २५ गते ।

ट्याक्टर दुर्घटनामा परेर निधन भएका म्याग्दीको मंगला गाउँपालिका–२, भाइबाङका सुस्मिता नेपाली र १ नम्बर वडा पूर्णगाउँका सुशील भण्डारीको परिवारलाई आर्थिक सहयोग भएको छ ।
सुस्मिता नेपालीको परिवारलाई मंगला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र मेलमिलापसम्बन्धी तालिमका प्रशिक्षकमार्फत सङ्कलित नगद आठहजार ११५ रुपैयाँ सहयोग गरिएको छ ।

यसैगरी नेपालीको परिवारलाई स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस बाबियाचौरले नगद पाँचहजार १२० रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु उपलब्ध गराएको छ ।
भण्डारीको परिवारलाई स्वतन्त्र विद्यार्थी युनियन मंगला शिक्षा क्याम्पस बाबियाचौरले नगद पाँचहजार १२० रुपैयाँ सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम शुक्रबार मंगला गाउँ कार्यपालिका सदस्य सरस्वती उपाध्याय, स्ववियु सभापति अनिशा भट्टराई र उपसभापति नवराज आचार्यले पीडितद्वयको घरमै पुगेर हस्तान्तरण गरेका थिए ।
गएको जेठ ६ गते बाबियाचौरदेखि पूर्णगाउँतर्फ निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटनामा परेर सहचालक सुशील भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्याक्टरमा घाइते सुस्मिता नेपालीको उपचारको क्रममा निधन भएको थियो । एक छोरा एक छोरी रहेको सुस्मिताको परिवारमा आर्थिक अवस्था कमजोर रहेको छ ।