समृद्ध गाउँपालिका निर्माणमा हिस्तानबासीको प्रतिबद्धता

राकेश शर्मा/हिस्तान

जेठ २३ गते ।histan

अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानबासीले समृद्ध गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले मंगलबार हिस्तानमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत पोखरेबगर–हिस्तान–राम्चे सडक आयोजना सञ्चालन गरेको भन्दै गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

त्यसक्रममा उनीहरुले गलत नियत र सर्वसाधारणलाई दुख कष्ट हुने जुनसुकै कार्यमा भने सहयोग नहुने बताएका छन् ।

वडा नं ७ वडाअध्यक्ष गमबहादुर फगामीको अध्यक्षतामा भएको कार्यक्रममा कुलबहादुर गर्बुजा, बुद्धि पुन, कुम बहादुर पुर्जा, दुतबहादुर गुर्बजाले गाउँपालिकाको गौरबको आयोजना पोखरेबगर–राम्चे सडकमा लागत अनुसारको ग्याविन जाली नभरेको, उपभोक्ता समितिले पर्याप्त अनुगमन नगरेको, औल–दोसल्ले सडकलाई पर्याप्त बजेट विनीयोजन हुनुपर्ने विषयमा प्रश्न राखेका थिए ।

रेउ कुमारी पुन, घराम्दी आधारभुत विद्यालयका प्रधानाध्यापक खरिमायाँ गर्बुजा, चन्द्र बहादुर पुन, बेदनाथ आचार्यले प्रभावकारी स्वास्थ्य सेवा, स्वास्थ्य बिमा, गाउँघर क्लिनिक सञ्चालन र अपाँगता परिचयपत्र वितरण प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए ।

त्यस्तै कार्यक्रममा शिक्षकहरु यामबहादुर पुन, प्रदीप पुन, स्रोतव्यक्ति एबम् स्थानीय भरत पुन लगायतले वडा कार्यालयले शिक्षाको क्षेत्रमा पर्याप्त रुपमा ध्यान दिन नसकेको, बालविकास केन्द्रहरु समस्यामा परेको र विद्यालयका सहयोगीहरुलाई पोशाकसुविधा नहुँदा समस्या उत्पन्न भएको जस्ता प्रसंगहरु राखेका थिए ।

त्यस्तै कार्यक्रममा घराम्दीका हर्कबहादुर पुर्जा र पर्यटन व्यवसायी समेत रहेका प्रदीप पुनले हिस्तान क्षेत्रमा रहेको गाउँ हेर्ने डाँडा, पञ्चेवाला डाँडा लगायतका पर्यटकीय संभावना बोकेको क्षेत्र र सामुदायिक तवरले सञ्चालित घरवास कार्यक्रमलाई थप व्यवस्थित बनाउन गाउँपालिकाले दीर्घकालीन योजना बनाइनुपर्ने बताए ।

सर्वसाधारणले वडा कार्यालयको सुविधालाई थप व्यवस्थित बनाउनुपर्ने, वडाका सबै सरोकारवाला पक्षको सहभागितामा योजनाको तर्जुमा र बजेट विनीयोजनको परिपाटीको विकास गर्न वडाअध्यक्षलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीयले उठाएका सवाल बारे गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहाल, उपाध्यक्ष केशमायाँ तिलिजा, गाउँपालिका मातहतका विषयगत समितिका संयोजक, कृषि शाखा संयोजक गोपाल भट्टराई, पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार राय, स्वास्थ्यसेवा संयोजक समुन्द्र बरुवाल र वडाअध्यक्ष फगामीले आ–आफ्नो क्षेत्रको जवाफ दिएका थिए ।

गाउँपालिकाको सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले स्वागत गरेको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष क्या. पुनले आगामी बजेटमा २लाख रुपैयाँ भन्दा न्यून लागतका योजनालाई स्वीकृत नगर्ने बताए ।

‘जहाँ पनि देखिने काम हुनुप¥यो, त्यसैले सबै वडाहरुलाई झिनामसिना योजना नबनाउन निर्देशन दिएको छु’, उनले भने, ‘शिक्षा क्षेत्र मेरो पहिलो प्राथामिकतामा हो, त्यसमा तपाँईहरुले साथ दिनुपर्छ ।’ चालु आर्थिक बर्षमा कक्षा १ देखि अनिवार्य अँग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको भन्दै अध्यक्ष पुनले टेलिटिचिङको अवधारणा अघि सारिएको बताए । ‘उच्च गतिको इन्टरनेट मार्फत एक विद्यालयको पठनपाठन शैली अर्को विद्यालयले प्रत्यक्ष रुपमा हेर्ने प्रविधि नै टेलिटिचिङ हो’, उनले भने, ‘यसका लागि हामीले १० लाख रुपैयाँ बजेट विनीयोजन गरिसकेका छौँ ।’ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमायाँ तिलिजाले हरेक वडाअध्यक्षले गाउँमा सर्वसम्मत रुपमा योजनाको छनौट र पारदर्शी तरिकाले बजेट विनीयोजन गर्नुपर्ने बताइन् ।

त्यस्तै, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, सार्वजनिक विकास तथा क्षमता विकास समितिका संयोजक गमप्रसाद विकास समिति संयोजक गम प्रसाद फगामी र सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामीले गाउँपालिकाको आन्तरिक आय बृद्धि गर्नुपर्ने आवश्यकता औल्याउँदै जलविद्युतको हबको रुपमा विकास गर्ने र पर्यटन प्रर्बद्धनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले बजेट तुर्जमाको तयारीमा रहँदा सार्वजनिक सुनुवाई मार्फत योजना, सेवाप्रवाहको गुनासा संकलन सहित स्थानीयको अपेक्षा पनि बुझ्न सहज भएको बताए । उनका अनुसार, बुधबार नारच्याङ घराप, बिहिबार तल्लो शिख र अन्तिम दिन शुक्रबार पोखरेबगरमा सार्वजनिक सुनुवाई कार्यक्रम तय गरिएको छ ।

गाउँपालिकाले म्याग्दी मिडिया सोसाइटीसँगको सहकार्यमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रमको सञ्चालन गाउँपालिकाको नायब सुब्बा कुलप्रसाद आचार्यले गरेका थिए भने सहजीकरण सोसाइटीका अध्यक्ष गोपाल छन्त्याल र राकेश शर्माले गरेका थिए ।