फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
फुलबारी २२ जेठ । IMG_3890मालीका गाउँपालिका ४ को फुलबारीमा चुनारे खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत करिब साढे पैतिस लाख रुपैयाको लागतमा आयोजना निर्माण भएको हो ।

नेपाल सरकारको नौ लाख ९५ हजार १२१, फिनल्याण्ड सरकारको नौ लाख ९५ हजार १२१, गाउँपालिकाको तिन लाख ५३ हजार ९७२ र उपभोक्ताको ११ लाख ९५ हजार ५०६ गरी पैतीस लाख ३९ ७२० रुपैयाँ लागतमा आयोजना निर्माण भएको उपभोक्ता समितिका कोषाध्यक्ष सिता शर्माले बताउनुभयो ।

आयोजनाबाट ७० घरधुरीका ४५२ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सबै घरमा मिटर सहितको निजी धारा जडान गरिएको छ । स्थानीय पुरुषोत्तम आधारभुत विद्यालय, मन्दिर र चर्चमा पनी धारा जडान गरिएको छ । IMG_3897चुनारेमा मुहान रहेको आयोजनाको एक हजार ५८१ मिटर मुख्य पाईपलाईन मार्फत चार वटा रिजर्भ टंकीमा संकलन गरिने पानी तिन हजार ९८८ मिटर लामो शाखा लाईन मार्फत घरघरमा वितरण गरिएको छ । आयोजनाको दिगो सञ्चालनका लागि मासिक एक सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

आयोजना निर्माणका लागि सत्तरी घरधुरीले ९० दिनका दरले श्रमदान गरेका थिए । यसअघि सार्वजनीक धारा र मुहानबाट निजी लगानीमा पाईपबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए । घरघरमै खानेपानी भएपछि समयको बचत र सुबिधा भएको स्थानीयबासी लक्ष्मी डगामीले बताउनुभयो ।

आयोजनाको मंगलबार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि अध्यक्ष रोकाले परियोजना र खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयसंग समन्वय गरेर खानेपानी सुबिधा विस्तार गर्न पहल गरिएको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले परियोजना मार्फत सञ्चालीत खानेपानी आयोजनाहरु दिगो, उपलब्धिमुलक र प्रभावकारी देखिएको बताउनुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनले साविकको ओखरबोट गाविसमा चालु आर्थिक वर्षमा सञ्चालीत छ वटा खानेपानी आयोजना मध्य दुई वटा सम्पन्न भैसकेको बताउनुभयो ।

परियोजनाका सरसफाई बिज्ञ संगिता खड्का, जिल्ला सल्लाहकार थरेन्द्र पौडेल, सामाजिक सहजकर्ता ईन्द्र चन्द, गाउँपालीकाका वास सम्पर्क व्यक्ति पूर्णप्रसाद शर्मा र सिद्ध आधारभुत विद्यालयका प्रअ मोतीराज गौतमले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

आयोजनाका अध्यक्ष भिमबहादुर बुढाको अध्यक्षता, सचिव मुक्ति पुनको सञ्चालन र सदस्य लालमन रसाईलीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा आयोजनाको सामाजिक परिक्षण गरिएको थियो । यसैबीच जिसस प्रमुख देवेन्द्र केसी र परियोजनाका प्राबिधिक सहितको टोलीले समेत मंगलबार आयोजनाको स्थलगत निरिक्षण गरेको थियो ।