दरवाङमा सम्पन्न एकिकृत घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरणा

सन्तोष गौतम / विकल्प
दरवाङ, १९ जेठ ।IMG_3536मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनीवार सम्पन्न एकिकृत घुम्ती शिवीरमा ३ सय बढी नागरिकता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिवीरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शिविरमा महिला तथा बालबालिका कार्यालयले २३ वटा अपांगता परिचय पत्र र ४८ वटा ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ ।

त्यसैगरि घरेलु तथा साना उद्योग विकास समिति मार्फत २ वटा होटल र ३ वटा पसलको दर्ता समेत गरिएको छ । शिविरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले प्रवाह गरेको आफ्नो प्रशासनिक एवम परामर्श सेवा र स्वास्थ्य चेकजाँचमा गरि करिब १ हजार बढी लाभान्वित भएका छन् ।

शिवीरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला भुःसंरक्षण, बन, कृषि, पशु सेवा, सिचाई सब डिभिजन, मालपोत, नापी, विद्युत , खानेपानी तथा सरसफाई सब डिभिजन, जिल्ला प्राविधिक, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य विमा बोर्ड लगायतका कार्यालयहरुले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरमा प्रदान गरेका थिए ।

उक्त अवसरमा आएका नागरिकहरुलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामुलक बृत्तचित्र पर्दशनी गरेको जनाएको छ ।

घुम्ती शिविरले नागरिकता लगायतका बेनीबाट लिनुपर्ने सेवालाई गाउँपालिकाको केन्द्रबाट सहज रुपमा लिन र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण एवम सरकारी सेवा लिन राहत मिलेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

भौगोलिक रुपमा विकटता रहेको मालिका गाउँपालिकाको सबै वडा र धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ मल्कबाङ र ६ मराङका नागरिकहरुले समेत उक्त शिविरबाट सेवा लिएका छन् ।

ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सदरमुकामबाट प्रवाह हुने सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।