राेजगारमुलक याेजनामा जाेड ः मन्त्री पुन

सन्तोष गौतम/ विकल्प
बाबियाचौर १९ जेठ ।IMG_3648

प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले रोजगारमुलक योजनामा जोड दिइने बताउनुभएको छ ।

मंगला गाउँपालीकाले शनिबार बाबियाचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले प्रदेश सरकारले ल्याउने बजेट, निती तथा कार्यक्रममा मन्त्रालयले रोजगारी सिर्जना, आयआर्जन र उत्पादन वृद्धी हुने योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।

भौतिक पूर्वाधारसंगै मानवीय र सामाजिक विकासलाई समान रुपले अघि बढाउन आवश्यक रहेको मन्त्री पुनको भनाई छ । प्रदेशमा रोजगारी सिर्जनाको सम्भाव्यत्ता अध्ययन गरेर सम्भावना भएको क्षेत्रमा सरकारले लगानी गर्ने उहाँले बताउनुभयो ।

सामाजिक परिवर्तन र रुपान्तरणका लागि महिलालाई आर्थिक रुपमा आत्मनिर्भर, सक्षम र शिक्षीत बनाउनुपर्ने बताउँदै मन्त्री पुनले सडकमा बजेट खनाएर मात्र विकास नहुने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शान्ति सुरक्षा, शुषासन र भ्रष्ट्राचार नियन्त्रणका लागि संघीय सरकारले लिएको निती म्याग्दीमा पनी कडाईका साथ कार्यान्वयन गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पर्यटन, पशुपालन, कृषिको विकास गरी मंगलालाई सम्बृद्ध बनाउने लक्ष्यमा साथ दिन मन्त्री पुन मार्फत प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो ।

राजेन्द्र आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा मंगला गाउँपालिकाका जनप्रतिनिध र स्थानीयबासीले मन्त्री पुनलाई स्वागत गरेका थिए ।