ताजा समाचार:
Search

मालिकामा मापदण्ड विपरित संरचना बनाए सेवा सुबिधा राेक्का

गोपाल छन्त्याल/ बेनी
जेठ १७ गते । malika 0मालिका गाउँपालिकाले बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि मापदण्डको कार्यान्वयनलाई कडाई गरेको छ । गत पुस महिनामा गाउँपालिकाले मापदण्ड स्वीकृत गरेको थियो ।

बिहिबार बसेको गाउँ कार्यपालिकाको वैठकले मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अटेरी गरि संरचना निर्माण गर्नेलाई गाउँपालिकाको तर्फबाट प्राप्त सबै सेवासुविधा रोक्क ागर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ निस्कोटका वडाअध्यक्ष टंक पुनले जानकारी दिए ।

उनका अनुसार, मापदण्ड स्वीकृत भइसकेको अवस्थामा पनि त्यस विपरित संरचना निर्माण हुने क्रम पूर्ण रुपमा रोकिएको छैन ।

‘सेवासुविधा नै रोक्का गर्ने निर्णय गरेका छौँ, यसबाट मापदण्ड अनुसारको संरचना निर्माण हुने र त्यसबाट सुरक्षित बस्ती हुनेछ भन्ने अपेक्षा छ’, उनले भने ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार जिल्लाको दोश्रो व्यापारिक केन्द्रको रुपमा परिचित छ । तीब्र रुपमा शहरीकरणतर्फ उन्मुख दरबाङमा घरटहरा निर्माणले व्यापकता पाएको छ ।

गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले भूकम्प प्रतिरोधी घर र सुरक्षित समाज निर्माणका लागि गाउँपालिकाले जिल्लामै पहिलो पटक मापदण्ड स्वीकृत गरि कार्यान्वयनमा ल्याईएको बताए ।

बिहीबार सम्पन्न गाउँपालिकाको वैठकले गाउँपालिका भित्रका सार्वजनिक पदधारणा गरेका कर्मचारी र पदाधिकारीहरु कुनै पनि संघसंस्था, उपभोक्ता समिति र समूहमा आबद्ध हुन नपाउने निर्णय गरेको छ ।

गाउँपालिका मातहत सञ्चालन भएका कुनैपनि आयोजनामा त्यस्तो पाईए उक्त आयोजनाको भुक्तानी नै रोक्ने निर्णय भएको गाउँपालिका प्रवक्ता पुनले जानकारी दिए ।