विकल्प न्यूज/बेनी
जेठ १४ गते । म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर ११ औं गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सोमवार विहान वसेको सरोकारवालाहरुको बैठकले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
वैठकले जिसस प्रमुख केसीको अध्यक्षतामा संघिय र प्रदेश सांसद,जिससका उप्रमुख,बेनी नगरपालिकाका प्रमुख,तथा उपप्रमुख,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दलका प्रमुखहरु,जिसका सदस्य,कार्यालय प्रमुखहरु,गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष,नपा तथा गापाका वडा अध्यक्षहरु,तथा वार्ड सदस्यहरु,उद्योग वाणिज्य संघ, लगायत पत्रकार,सदरमुकाम स्थित शैक्षिक संस्थाहरु र टोल सुधार समितिहरु सम्मिलित गणतन्त्र दिवस जिल्ला समारोह समिति म्याग्दी गठन गरेको जिससका प्रमुख केसीले जानकारी दिनुभयो ।
जेठ १४ गते देखि तिनै दिन कार्यालय,घर र मठमन्दीरमा दिपावली गर्ने, १५ गते विहान ७ बजे जिल्ला प्रशासन कार्यालय अगाडिबाट बजारमा प्रभातफेरी, र १६ गते सार्वजनिक स्थल र बजार सरसफाई गरी दिवस मनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताउनुभयो । साथै वैठकले जिल्लाका सवै स्थानीय तहमा कार्यक्रम गरि गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।