“एक्सन”मा उत्रियो प्रहरी

सन्तोष गौतम /विकल्प न्यूज
जेठ १४ गते । dsp myagdi 0बेनी गत हप्ता जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले म्याग्दीमा देखिएको बिकृति र बेथिति विरुद्ध कडा कदम चाल्नुभएको छ । कैलालीबाट सरुवा भएर सोमबार म्याग्दीमा आएका डिएसपी बुढाको निशानामा सिण्डीकेटधारी यातायात व्यवसायी देखि जुवातास खेल्ने खेलाउने परिसकेका छन् ।

म्याग्दीमा पछिल्लो समय सुरक्षा, सरकारी अधिकारी र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर प्राकृतिक स्रोत साधनको दोहन, घुसखोरी, लागु औषध ओसारपसार, जुवातास खेलाउने जस्ता अबैध धन्दा मौलाईरहेको गुनासो बढीरहेका बेला नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको हो ।

पत्रकारहरुसंग मंगलबार भएको भेटघाटका क्रममा शक्तिको आडमा अबैध काम गर्ने जो सुकैलाई नछाड्ने प्रतिवद्धता जनाउँदै प्रनाउ बुढाले शान्ति सुरक्षा, अमनचयन कायमन राख्ने, अपराध र विकृति नियन्त्रणमा सबै शक्ती परिचालन गर्ने बताउनुभयो । प्रहरीको नाम बेचेर गलत काम गर्नेहरुको सूची तयार पार्न लागेको बताउँदै उहाँले त्यस्ता गतिबिधि गर्नेहरुको सूचना दिएर सहयोग गर्न जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

सिण्डीकेटको जालो तोडिदै 

बस रिजर्भ गरेर बेनी देखि मुस्ताङ जाँदै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाउने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी देखि जोमसोम तर्फ रिजर्भमा यात्रु लिएर जाँदै गरेको बसलाई बुधबार बिहान ४.३० बजे रघुगंगा गाउँपालिका ३ को गायत्री मन्दिर अगाडी रोकेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका उनिहरुलाई केही सार्वजनिक अपराध मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका ७ बिम घर भई हाल बेनपा ८ बस्ने २२ वर्षिय सागर श्रीपाली, बेनी नगरपालिका ५ पुलाचौरका २२ वर्षिय विश्वास शेरपुञ्जा र बेनी नगरपालिका ८ कालीपुलका १७ वर्षिय आकाश घर्तीमगर रहेका प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई बेनी जोमसोम सडकमा यातायात सेवा दिँदै आएका म्याग्दीका यातायात व्यवसायीहरुले बाहिरी जिल्लाबाट रिजर्भमा यात्रु लिएर आउने सवारी साधनको निगरानी गर्न परिचालन गरेको अनुसन्धानबाट खुलेको छ ।

यातायात क्षेत्रमा समस्याको रुपमा रहेको सिण्डीकेटको विरुद्धमा सरकारी निकाय आक्रामक रुपमा प्रस्तुत भएपनि बेनी जोमसोम सडकको विभिन्न ठाउँमा स्थानीय यातायात व्यवसायीले बाहिरबाट आउने सवारी साधन सञ्चालनमा अवरोध गर्दै आएको यात्रुहरुले गुनासो गरेका छन् ।

बिचमा सवारी साधन रोकेर यात्रुलाई आफ्ना यातायातका साधनमा यात्रा गर्न बाध्य बनाउने, सवारी धनीबाट अबैध रुपमा पैसा असुल्ने गरेको गुनासो प्रनाउ बुढाकहाँ सूचना पुगेको थियो । यसअघि प्रहरी, प्रशासन र जनप्रतिनिधिहरुको संरक्षणमा यस्तो अबैध धन्दा र गतिबिधी गर्दै आएका यातायात व्यवसायीका नेताहरु पक्राउ परेकालाई छुटाउन बुधबार दिउँसो प्रहरीकहाँ पुगेका थिए । डिएसपी बुढाले अबैध क्रियाकलाप गर्नेहरुलाई समेत पक्राउ गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएर फर्काउनु भएको हो । बेनीको कालीपुल पेट्रोल पम्प नजिकै र मुस्ताङको घासामा निरीक्षण काउण्टर खडा गरेर स्थानीय यातायात समितिको नाममा बाहिरी जिल्लाबाट सवारी साधन लिएर आउने यात्रुलाई रोकेर दुख दिने र जवरजस्ती पैसा असुल्ने गरिएको गुनासो रहेको छ ।

जनप्रतिनिधि जुवाको खालमा

बेनी बजारमा जुवा खेलीरहेको अवस्थामा बिहीबार प्रहरीले जनप्रतिनिधि सहित १४ जनालाई पक्राउ गरेको छ । व्यापक रुपमा सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद स्थानमा छापा मार्दा १ महिला सहित १४ जनालाई पक्राउ गरीएको प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, जुवा खेली रहेको स्थानबाट ५० हजार एकसय ४५ नगद समेत बरामद भएको छ ।

बेनीको होटल नमस्तेमा जुवा खेलीरहेका शेर बहादुर पाईजा, गमनन छन्त्याल, भिम छन्त्याल, जिबन छन्त्याल र सोमबहादुर छन्त्याल पक्राउ परेका छन् । जुवाखालबाट पक्राउ परेका गमान छन्त्याल रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका वडा अध्यक्ष हुनुहुन्छ । गत वर्षको स्थानीय तहको चुनावमा नेपाली काँग्र्रेसबाट निर्वाचित छन्त्याल धेरैजसो सदरमुकाम बेनीमै भेटिनुहुन्छ । वडामा नबस्दा सर्वसाधारणलाई सास्ती भएको छ ।

यसैगरी पिपलचोक स्थित ओम बहादुर छन्त्यालको घरमा जुवा खेलीरहेको अवस्थामा घर धनि छन्त्याल सहित, याम बहादुर छन्त्याल, मनोज पुन र टिका पुन ( महिला )लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बेनपा ९ गलेश्वर स्थित केन कार्कीको घरमा खड्क बहादुर गर्बुजा, बिर बहादुर शेरपुञ्जा, सिकिन्दर बहादुर बानियाँ, बिजय शेरपुञ्जा र केन कार्कीलाई जुवा खेलीरहेको समयमा पक्राउ गरेको । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर जुवा ऐन अन्तरगत मुद्दा चलाइएको छ ।

सिण्डीकेट र जुवातास विरुद्ध खरो रुपमा उत्रिएको प्रहरीले यो अभियानलाई अझै प्रभावकारी बनाउनुका साथै यौन व्यवसाय, मदिराको अव्यवस्थित बिक्री वितरण, अबैध ढुकुटी कारोबार, मिटर ब्याज, लागू औषध ओसारपोसार, जडिवुटी तथा बन्यजन्तुको चोरी निकासी नियन्त्रणमा पनि ध्यान दिनुपर्ने जिल्लाबासीको सुझाव छ ।