मल्लाज स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ जेठ । Mallaj Health Post Labजलजला गाउँपालिका ३ को मल्लाज स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) स्थापना भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा उपकरण खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालामा दिसा, पिसाब, शंकास्पद क्षयरोगीको खकार, रगतमा हेमोगोलोबिनको मात्र, सुगर, टाईफाईड, रक्त समूह पहिचान गर्ने सुबिधा रहेको स्वास्थ्य चौकीका प्रमुख गोरे नेपालीले जानकारी दिनुभयो ।

“प्रयोगशाला सञ्चालन भएपछि रोगको पहिचान र उपचारमा सहज भएको छ” प्रमुख नेपालीले भन्नुभयो “सामान्य अवस्थामा रगत परिक्षण गरी रोग पहिचानका लागि बिरामीलाई बेनी पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

जलजला गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दा लाभान्वित भएका छन् । प्रयोगशालालाई निरन्तरता दिनका लागि बेनी अस्पतालको दररेट अनुसार न्युनतम शूल्क निर्धारण गरीएको छ । स्वास्थ्य कर्मीको व्यवस्था गरिएको छ ।
प्रयोगशाला स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको दुई लाख पचास हजार रुपैयाबाट उपकरण खरिद गरिएको वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले बताउनुभयो ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका भण्डारीको अध्यक्षता, प्रमुख नेपालीको सञ्चालन र समितिका सदस्य चित्रराज रेग्मीको स्वागत मन्तब्यमा शनिबार भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

अध्यक्ष मल्लले सहज र सर्बसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभयो । स्वास्थ्य चौकीको सेवा र क्षमता विस्तारका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै गुणस्तर सुधारका लागि सरोकारवालहरुसंग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा २ नम्बर वडाका अध्यक्ष गोविन्द्र खत्री, व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लालबहादुर अधिकारी, नेकपाका बाबुराम कार्की, नेपाली काँग्रेसका चन्द्रबहादुर जिसी, ४ नम्बर वडाका सदस्य पदम नेपाली, विद्याज्योती माविका प्रअ रघुनाथ आचार्य, स्वमसेवीका तुलसी पौडेल र स्थानीय युवा नविन जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।