पिपलबोट सेराफाँट सिँचाई आयोजनाको नहरमा पानी चल्यो

सन्तोष गौतम/ बेनी
म्याग्दी ७ जेठ ।IMG_2540मंगला गाउँपालिका ५ मा निर्माणाधिन पिपलबोट सेराफाँट सिचाई आयोजना नहरमा पानी चलाइएको छ ।

नहर निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाको बाँध लगायतका संरचना तयार भएपछि पानी चलाइएको हो । सेराफाँटतर्फ ३५० मिटर पक्कि नहर निर्माण सकिएको छ भने पिपलबोटतर्फ थप चार सय मिटर नहर बनाउन बाँकी छ ।

अर्मनखोलामा मुहान भएको आयोजनाको नहरको कुल लम्बाई एक हजार पाँच सय मिटर हो । बनेको नहरमा पानी चलाएर खेतमा सिचाई गर्न थालीएको उपभोक्ता समितिका सचिव तुलसीराम सापकोटाले बताउनुभयो ।

वि.स २०५५ सालमा निर्माण भएको आयोजनाको कच्चि नाली, पाईप मार्फत पानी ल्याएर वितरण गर्दा पर्याप्त पानी नआउने, पालो लगाएर सिचाई गर्नुपर्ने समस्या थियो । नयाँ नहर बनेपछि आवश्यकता अनुसार पानी आपुर्ती भई खेतीबाली लगाउन सहज भएको सेराफाँटका गोविन्द पौडेलले बताउनुभयो ।

पिपलबोट र सेराफाँट धान, गहुँ र मकै खेतीको पकेट क्षेत्र हो । सिचाई सुबिधा भएपछि कृषि उपजको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । सिचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत वि.स २०७३ देखि निर्माण सुरु गरेको आयोजनाको हालसम्म सत्तरी प्रतिशत भौतिक प्रगती भएको हो ।

८४ लाख ८२ हजार रुपैयामा झिँ निर्माण सेवाले २०७५ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको थियो । आयोजना समयमै सम्पन्न गराउनका लागि अनुगमन र सहजिकरण गरिएको डिभिजनका प्रमुख ईञ्जिनियर दिनेश आचार्यले बताउनुभयो ।

आयोजना निर्माण भएपछि पिपलबोट र सेराफाँटको ५२ हेक्टर जमिनमा बाह्ै महिना सिचाई सुबिधा पुग्ने साईट ईञ्चार्ज तथा सब ईञ्जिनियर बिमल विश्वकर्माले बताउनुभयो । सोमबार आयोजना अनुगमनमा पुगेको डिभिजन र निर्माण कम्पनीका प्रतिनिधिहरुसंग पिपलबोटका बासिन्दाले छिटो सम्पन्न गर्न आग्रह गरेका थिए ।

धानको ब्याड राख्न ढिलाई भएको बताउदै बर्खे बाली लगाउने समय अघिनै नहर बनाईसक्न निर्माण ब्यवसायीसंग माग गरेका हुन् । निर्माण सामाग्रीको अभावले केही दिन काम प्रभावीत भएपनि निर्धारीत समयमै योजना सम्पन्न गर्ने झिँ निर्माण सेवाका सञ्चालक शिवकुमार भट्टचनले बताउनुभयो ।