सन्तोष गौतम/विकल्प न्यूज
बैशाख २६ गते । मलिका(म्याग्दी) / घना जंगलको बिचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरोझै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभुमिका हिमाल । बिहानीमा लाली छाउँदै पूर्वबाट उदाउने सुर्योदय । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास ।
धार्मीक तथा पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दीको मालिका धुरीको मुख्य बिशेषता हुन यी । मालिका गाउँपालिका ७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका ६ ठाडाखानीको शिरमा रहेको मालिका समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित छ ।
२० भन्दा बढी हिमशृङखला, सुर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पंक्षीहरुको अवलोकन गर्न सकिने मालिकाको धार्मीक महत्व समेत रहेको छ । “मालिका प्राकृतिक सौन्दर्य, धार्मीक आस्था र दृष्य अवलोकनको संगम हो” रघुगंगा ६ का भेषकुमार शेरपुञ्जाले भन्नुभयो “एकै स्थानबाट धेरै किसीमका दृष्य अवलोकन गर्न पाउनु यहाँको बिशेषता हो ।” मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायत २० भन्दा बढी हिमशृङखलाको लहरै दृष्य देखिन्छ । सुर्योदय र म्याग्दीका अधिकांश बस्तीहरुको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जंगलमा पाईने लालीगुराँस, वन्यजन्तु, पंक्षी, विभिन्न प्रजातीका फुल, जडिवुटी र वन पैदावार थप आकर्षण हो ।
चण्डी पूर्णीमा, जेष्ठि पूर्णीमा, भाईटिका र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने मालिकाको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । मालिका, कालिका र जाल्पादेवीको मुर्ती रहेको मालिका मन्दिरमा भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन रहेको मालिका ७ बिमका कुलबहादुर बिकले बताउनुभयो ।
“सन्तान प्राप्ती, धन आर्जन, पारिवारिक सुख, रोजगारी आदीको अपेक्षा राखेर मालिकासंग बर माग्ने गरिन्छ” बिकले भन्नुभयो “मैले मागेको बर पुरा भएपछि बोकाको बली दिएर भाकल पुरा गरे ।” म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका ठाउँबाट वर्षको चार दिन पुजाआजाका लागि आएका भक्तजनको चहलपहल हुने मालिका अन्य समय सुनसान हुन्छ । यस स्थानमा हिन्दु धर्मावालम्बीहरुका भगवानी शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किम्बदन्ती छ ।
मालीकाको धार्मीक विषयमा अन्य किम्बदन्ती समेत रहेका छन । तर खोज अनुसन्धान हुन सकेको छैन् । भाकल पुरा भएमा बोका र परेवाको बली चढाउने चलन छ । पछिल्लो समय बलीको बिकल्पमा नरीवल समेत चढाउन सकिन्छ । वि.स १९१० देखि मालिकामा पुजाआजा हुन थालेको ईतिहास छ । सुन्दर दृष्य अवलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटकको पाईला पर्न सकेको छैन् । मालिकामा पुजाआजा गर्न पुगेका भक्तजन । साथमा मालिकाबाट देखिएको दृष्य र प्राकृतिक सौन्दर्यमा रमाउँदै आन्तरिक पर्यटक । तस्विर सन्तोष गौतम, नवविकल्प
सहज पदमार्ग, आवास, खानेपानी लगायत पूर्वाधारसंगै मालिकाको धार्मीक तथा पर्यटकीय महत्वको बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको मालिका गाउँपालिका ७ बाईन्दफाँटका चन्द्र जुग्जालीले बताउनुभयो । मालिकामा पुजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओडारमा कष्टप्रद रुपमा रात कटाउन बाध्य छन् । खानेपानीको सहज सुबिधा छैन् । चिसोका कारण राती १२ बजेदेखिनै पुजा गरेर घर फर्कने भक्तजनहरुको हतारो हुन्छ ।
बेनी देखि पैदल दुई दिन र सवारी साधन प्रयोग गर्दा एकै दिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाईन्दफाँट भएर मालीका जान सकिन्छ । “सत्तलको सरसफाई, आवास व्यवस्थापन र भक्तजनको सुरक्षामा कसैको ध्यान पुगेको छैन्” बागलुङबाट आएकी रेखा पुनले भनिन् “धुलै धुलो भएको सत्तलमा पलास्टीक बिछ्याएर बस्नुप¥यो । चिसो र असुबिधाले बस्नै गाहे भयो । सरोकारवालाको बेवास्ताका कारण भक्तजनले दुख पाएका छन् ।”
“समुदायले महत्वको बारेमा प्रचारप्रसार र सरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाउँदा मालिका ओझेलमा परेको छ” जुग्जालीले भन्नुभयो “वडा, स्थानीय तह, प्रदेश र संघीय सरकारले अब यहाँको पूर्वाधार विकासमा प्राथमिकता तथा समुदायले सक्रियता देखाउन आवश्यक छ ।”
केही भक्तजनले मालिकामा निजी लगानीमा सत्तल निर्माण र खानेपानी सुबिधाको व्यवस्था गरिदिएका छन् । बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा पाईप मार्फत मालिकाको सत्तल सम्म खानेपानी पु¥याउनुभएको छ । तर व्यवस्थापनको कमजोरीले नियमित पानी आपुर्ती हुन सकेको छैन् । पहाडी भुगोलमा साँघुरा बाटोमा जोखिम मोलेर हिड्नुपर्ने अवस्था छ । रेलीङ सहितको फराकीलो पदमार्ग बनाउनु अति आवश्यक छ ।
ठाडाखानीका वुद्धीप्रसाद छन्त्यालले निजी लगानीमा दुई वटा सत्तल बनाउनुभएको छ । २ वटा शौचालय बनाइएको छ । बिमका ४९९ घरधुरीले नौ दिनका दरले श्रमदान गरेर बिमदेखि मालिका सम्म पुग्ने पदमार्ग र सत्तल बनाएका छन् । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले सात सय मिटर पाईप र एक हजार लिटरको ड्रम उपलब्ध गराएको थियो ।
वि.स २०६८ मा स्थापना भएको मालीका क्षेत्र विकास कोषले पुजा व्यवस्थापनका साथै मन्दिर, पदमार्ग र सत्तल निर्माण गरेको छ । मालिका र रघुगंगा गाउँपालिका मार्फत अन्य सरकारी निकायमा समन्वय गरेर थप पूर्वाधार निर्माणका लागि पहल गरिएको कोषका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो । पर्यटन मन्त्रालयको पाँच लाख र तत्कालीन जिविसको दुई लाख रुपैयाँ सहयोगमा मालिका मन्दिर निर्माण भएको थियो । मन्दिरको मर्मत र रंगरोगनको तयारी भएको छ ।
यसपाली चण्डी पुर्णीमामा पाँच हजार भक्तजनले पुजाआजा गरेको मालिकामा २७ हजार भेटी संकलन भएको कोषका अध्यक्ष पाईजाले बताउनुभयो । भेटी बैङ्कमा खाता खोलेर राखिएको छ । मालिका गाउँपालिकाले पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पन्ध्र लाख रुपैयाँ बिनियोजन गरेको छ । तर अहिलेसम्म काम सुरु भएको छैन् ।
रघुगंगा गाउँपालिकाले बिनियोजन गरेको तिन लाख रुपैयाँमा ठाडाखानीका बासिन्दाले करिब तिन किलोमिटर पदमार्ग निर्माण गरेका छन् । मालिका गाउँपालिका र वडा कार्यालयले बाईन्दफाँटदेखि बिमबाङसम्म सडक पुराएका छन् । सडक निर्माणका लागि मालिका गाउँपालिकाले आठ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
पर्यटन मन्त्रालयले बेनी–जगन्नाथ–टोड्के–मालिका–धौलागिरि आधार शिवीर जोड्ने पदमार्ग सञ्चालन गर्ने उद्देश्य सहित ठेक्का मार्फत करोडौका योजना सञ्चालन गरेपनि पारदर्शी, प्रभावकारी र गुणस्तरीय काम हुन नसकेको स्थानीयको गुनासो छ ।
मालीकालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुबिधाका लागि नजिकैका बस्तीमा होमस्टे, सामुदायीक लजको ब्यवस्थासंगै धार्मीक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । सत्तलमा काठ बिछ्याउने, पुजाआजाका लागि भक्तजन आउने समयमा सामुदायिक मेस सञ्चालन गर्ने र सुरक्षित पदमार्ग निर्माणमा प्राथमिकता दिनुपर्ने देखिएको छ । नवविकल्प अंक ३२ मा प्रकाशित