गाउँलेलाई लाखौं ठगेर ठेकेदार फरार

विकल्प न्यूज/बेनी
बैशाख २५ गते । Second Main Newsपर्यटन बिभागले निर्माण व्यवसायी मालिका क्षेत्रमा निर्माण गरेको पदमार्ग । तस्विर नवविकल्प

म्याग्दीमा एक निर्माण व्यवसायीले गाउँलेलाई लाखौ ठगेर फरार भएका छन् । टोड्के देखि मालिका जोड्ने सानोखर्क ठूलोखर्क मालीका दोवाटोखर्क पदमार्ग निर्माणको जिम्मा लिएका व्यवसायीले काम गरेका मजदुरको ज्याला र स्थानीय ब्यापारीहरुको उधारो नतिरी बर्षौदेखि सम्र्पक बिहीन भएका हुन् ।

पदमार्ग निर्माणमा खटिएका रघुगंगा गाउँपालिका ६ ठाडाखानी, कोटगाउँ र कालाबाङका एक सय जना भन्दा बढी मजदुरले पाँच लाख रुपैयाँ बढी काम गरेको ज्याला नपाएको कालावाङका युवा भेषकुमार शेरपुञ्जाले बताउनुभयो । उहाँका अनुसार मजदुरलाई काम गरेवापतको पुरा ज्याला नदिई फरार भएका निर्माण व्यवसायीले ठाडाखानी, पाखापानीका ब्यापारीबाट उधारो लगेको खाद्यान्नको समेत भुक्तानी गरेका छैनन् ।

भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने उक्त स्थानमा पदमार्ग निर्माणका क्रममा प्राबिधिक र निर्माण व्यवसायी मिलेर तोकिएको गुणस्तर र परिणाम अनुसारको काम नगरी बजेटको दुरुपयोग भएको करिब एक महिना पदमार्ग निर्माणको काम गरेका शेरपुञ्जाले गुनासो गर्नुभयो ।
आर्थिक वर्ष २०७१७२ मा पर्यटन बिभागले पोषनाथ ढुङ्गाना सञ्चालक रहेको नागार्जुन कल्पवृक्ष जेभीलाई ६९ लाख रुपैयाँमा पाँच किलोमिटर पदमार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिभागका सूचना अधिकारी कोषनाथ अधिकारीले आर्थिक वर्ष २०७२७३ मा सम्झौता अनुसारको काम सम्पन्न भएको प्रतिबेदन रहेको बताउनुभयो ।

मजदुरले ज्याला, तोकिएको गुणस्तर र परिणामको काम नभएको गुनासोको विषयमा आयोजनासंग सम्बद्ध प्राबिधिक र निर्माण व्यवसायीलाई सोधपुछ गरी छानविन गरिने सूचना अधिकारी अधिकारीले बताउनुभयो । कार्य स्थलमा खटिएका निर्माण कम्पनीका प्रतिनिधि अमृत श्रेष्ठले मुख्य ठेकेदारबाट आफूले समेत पुरा भुक्तानी नपाएको प्रतिक्रिया दिनुभयो । योजनामा प्राबिधिकसंग मिलेर अनियमितता गरेको आरोपका विषयमा जिज्ञाशा राख्दा भेटेर कुरा गरौला भन्दै फोन काटेका श्रेष्ठले पछि पटक पटक प्रयास गर्दा समेत मोवाईल उठाउनुभएन् ।