पुलले बनायो इलमी

अगन्धर तिवारी/पर्वत
बैशाख २३ गते । parvat-aglaa-pul-

कुश्मा ९, कटुवाचौपारीका ४२ वर्षीय दया लामिछानेको पुस्तौनी पेसा कृषि हो । एक–दुईवटा गाईभैंसी पालेर जीविकोपार्जन गर्दै आएका उनले मोदीबेनीको ओरालो–उकालो गर्न नसकेपछि विदेश जाने सोच बनाए ।

‘यहाँजत्तिको दु:ख विदेशमा गर्न सके राम्रै कमाइ हुन्छ भनेर धेरैले सुझाएपछि २०६४ असोजतिर राहदानी बनाएँ,’ लामिछानेले अतीत सम्झिए, ‘यताउता गर्दागर्दै डेढ वर्ष बित्यो । ०६५ फागुनमा घर नजिकैबाट कुश्मा जोड्ने पुल बन्यो । मेरो सोच एकाएक बदलियो ।’ ज्ञादीको डिलबाट कुश्मा जोड्ने ३४४ मिटर लामो पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोट्टियो । उनले एकैपटक चारवटा दुहुना गाई किने र दूध बेचेर गुजारा गर्न थाले ।

यो पुलले ज्ञादी क्षेत्रका धेरैको जीवनमा नसोचेको खुसी ल्याइदियो । कटुवा र आसपासका सयौं परिवारको आर्थिक, शैक्षिक, सामाजिक जीवनमा चामत्कारिक परिवर्तन आएको छ । ज्यालामजदुरी गर्नेहरूले गाई पालेर दूध बिक्री गर्न थाले । विद्यालय टाढा भएर बीचैमा पढाइ छोड्ने विद्यार्थी बिहानै सदरमुकामका स्कुल–क्याम्पसमा पढेर खाना खान घरमै फर्किन सक्ने भए ।

यो पुल बनाउने अवधारणा २०५८ तिर कुश्मा १२ (तत्कालीन ठूलीपोखरी) का सूर्यप्रकाश पौडेलले ल्याएका हुन् । उतिबेला नेपालकै अग्लो भनेर दाबी गरिएको (१४४ मिटर अग्लो) यो पुलको परिकल्पना सुनाउँदा धेरैले ‘पागल’ को संज्ञा दिएको पौडेल सम्झिन्छन् । ‘३३५ मिटर लामो, १४४ मिटर उचाइमा पुल बन्छ भन्दा कसैले पत्याएनन्,’ उनले भने, ‘जान्ने–बुझ्नेले नै खिल्ली उडाएपछि कसैलाई नभनी आफ्नै ढंगले लागेँ । करिब सात वर्ष खटेपछि सपना साकार भयो ।’

२०६६ फागुनमा पुल बनेपछि मोदी र कालीगण्डकीले घेरिएको कुश्मालाई वरपरका गाउँसँग जोड्न पुल बनाउने बाटो खुल्यो । लगत्तै मुडिकुवा, बागलुङको बलेवालगायत ठाउँका बासिन्दा पुल बनाउन कस्सिए । सम्भव पनि भयो । २०७१ मा बलेवा जोड्ने ३४७ लामो र १५१ मिटर अग्लो तथा ०७३ मा मुडिकुवा जोड्ने ३५९ मिटर लामो र १५७ मिटर उचाइको पुल बन्यो । यी झोलुङ्गे पुल बनेपछि बलेवा, मुडिकुवा र ज्ञादी क्षेत्रका सर्वसाधारणको जीविकामा एकाएक परिवर्तन आयो । ‘जीविकोपार्जनका लागि धेरै संघर्ष गरें,’ मुडिकुवाका कमल गौडेलले भने, ‘यो पुलले जीवनमा खुसीको बाढी ल्याएको छ ।’ उनले घर नजिकैको बारीमा अस्थायी टहरो बनाएर होटल चलाएका छन् । मासिक डेढ लाखसम्म आम्दानी हुन्छ ।
कटुवाका दया लामिछानेको गोठमा अहिले १४ वटा दुहुना गाई छन् । उनी दैनिक ५० लिटर दूध सदरमुकाममा बेच्छन् । ‘झमक्क साँझ परेपछि दूध लिएर कुश्मा जान्छु,’ उनले भने, ‘टर्च बालेर एक घण्टामा घरमै फर्किन्छु ।’ पुल नबन्दासम्म मोदीबेनी झरेर जंगल हुँदै उकालो चढ्नुपर्दा कुश्मा पुगेर फर्किन नै तीन घण्टा लाग्थ्यो । कटुवाका सयौं युवा अहिले पुलको बाटो हुँदै दूध र तरकारी बिक्री गर्न सदरमुकाम आउँछन् । ‘पहिला धेरै दु:ख गरियो,’ व्यावसायिक किसान काशिराम पराजुलीले भने, ‘पहिलाको सबै दु:ख यही पुलले बिर्साएको छ ।’ उनले तरकारीबाटै बर्सेनि नौ लाखभन्दा बढी आम्दानी गर्छन् । पुल बनेपछि व्यावसायिक तरकारी खेती सुरु गरेकी विष्णुमाया अधिकारीले पनि ६–७ लाख रुपैयाँ बचत गरिसकेकी छन् ।

पुल बनेपछि पशुपालन, तरकारीलगायत व्यवसाय सञ्चालन गर्नेको संख्या हात्तै बढेको छ । ज्ञादी, मुडिकुवा, बलेवा क्षेत्रबाट उच्च शिक्षाका लागि कुश्मा आउने विद्यार्थी पनि उत्तिकै छन् । बजारमा डेरा लिएर बस्नुपर्ने बाध्यता हटेको छ । ‘एक जनालाई पढाउँदा महिनामै १०–१२ हजार खर्च हुन्थ्यो,’ फलेबास–४ का थानेश्वर भुसालले भने, ‘अहिले पढेर घरमै खाना खान आउँछन् । घरको काम पनि सघाएकै छन् ।’ बिहान क्याम्पस जाँदा झोलामा तरकारी बोकेर जाने विद्यार्थीले उल्टै आम्दानी बढाएको अभिभावक बताउँछन् ।

पुल बनेपछि होटल व्यवसाय, कुखुरापालन, फर्निचर उद्योग, घरेलु हस्तकलाका सामग्री उत्पादन, सिलाइकटाइ, होजियारी उद्योगसमेत गाउँमा फस्टाएका छन् । पुल हेर्नकै लागि देश–विदेशबाट पर्यटकको लर्को लाग्ने गरेको छ । दैनिक हजार जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । कुश्मा र आसपासमा ५० भन्दा बढी ससाना र दर्जनौं सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् ।

पर्वतकै फलेबास–६, देवीस्थान र फलेबासकै वडा नम्बर १० कुर्घा जोड्न २०७१ मा बनेको २७८ मिटर लामो पुलले दुवै गाउँका बासिन्दालाई ठूलो राहत मिलेको छ । पुलमा मोटरसाइकलसमेत वारपार गर्न सकिने भएपछि आसपासका बासिन्दालाई कुश्मा हुँदै अन्यत्र आउजाउ गर्न पनि सजिलो भएको छ । सुरुमा कुश्मा–ज्ञादी पुलको चर्चा बढी भए पनि कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा, फलेबास–कुर्घा पुलले आकर्षण थपेका छन् । पाँच वर्षयता पर्वतमा होटल व्यवसायमा लगानी पनि बढेको छ । कुश्मामा सुविधायुक्त होटलको संख्या दर्जन हाराहारी पुगेको छ । पहिला सामान्य छाप्रामा व्यवसाय गर्नेले सेवा–सुविधा विस्तार गरेका छन् । ‘अग्ला पुलको मात्रै राम्रो प्रचार गर्नसके दैनिक लाखौंको सेवा बेच्न सकिन्छ,’ व्यवसायी कृष्ण श्रेष्ठले भने । अग्ला पुलकै कारण पर्यटकको चाप बढेको स्थानीय अगुवा बताउँछन् ।

थप तीन पुल बन्दै
अग्ला र लामा पुलको कीर्तिमान बनाएको पर्वतमा उस्तै प्रकृतिका तीनवटा पुल थपिने चरणमा छन् । कुश्माकै उपल्लो बजारबाट बन्जीजम्पसहितको झोलुङ्गे पुल निजी क्षेत्रबाट बन्दै छ । स्थानीय युवराज जोशी, नेत्र पराजुली, राजु पौडेल, राजु थापालगायत व्यवसायीले करिब १५ करोड लगानीमा कुश्मा–बलेवा झोलुङ्गे पुल बनाएर त्यसैमा विश्वकै अग्लो बन्जी र स्काई साइक्लिङ गराउने योजनासहित काम गरिरहेका छन् । यो बन्जीजम्प केही महिनाभित्रै सञ्चालनमा आउने सञ्चालकमध्येका नेत्र पराजुलीले बताए ।

कुश्मा–७, खरेहा र कुश्मा–९, कटुवाचौपारीस्थित अधिकारीफाँट जोड्ने गरी मोदीखोलामा निर्माणाधीन पुलको लम्बाइ ३५९ मिटर र उचाइ १२८ मिटर छ । एक करोड ९१ लाखमा निर्माण हुन लागेको पुल १८ महिनामा सक्ने गरी एमके मुक्तिनाथ निर्माण सेवाले काम गर्दै छ । इन्जिनियर अनुप थापाका अनुसार यो पुल पनि सिंगल स्पानका अन्य पुलसरह नै निर्माण हुने भएकाले एक वर्षभित्रै सम्पन्न हुन्छ । पर्वतकै कुश्मा–१, पाङबाट बाग्लुङ बजार जोड्न ५४४ मिटर लामो र १६० मिटर उचाइको पुलको काम सुरु भइसकेको कुश्मा–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए । पाँच करोड लागत अनुमान गरिएको यो पुल बनेपछि कुश्मा र बाग्लुङवासी लाभान्वित हुनेछन् । kantipurdaily.com