महभिर–घराम्दी–पेरीभारानी सडक ः विकासमा जनसहभागिताको नमुना

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । IMG_0858घराम्दी/  सरकारी निकायबाट करोडौ बजेट बिनियोजन भएका पूर्वाधार आयोजनामा ढिलासुस्ती, अनियमितता, कमीसनको विकृति मौलाईरहेका बेला अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका बासिन्दाले विकासमा जनसहभागिताको नमुना प्रस्तुत गरेका छन् ।

सरकारी बजेटलाई चारोझै छरेर विकासको बाहनामा बेतिथि, बिकृति र भ्रष्ट्राचार गर्नेहरुलाई दुर्गम र बिकट बस्ती घराम्दीका बासिन्दाले आफै आर्थिक स्रोत जुटाई दश किलोमिटर भन्दा बढी सडक खनेर चुनौती दिएका हुन् ।

स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैयाँ चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिर देखि घराम्दी हँुदै पेरी भारानी ताल पुग्ने सडक खनिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताउनुभयो ।

“राजनीतिक र प्रशासनीक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाएपछि आफै स्रोत जुटाएर सडक खनेका हौ” अध्यक्ष पुर्जाले भन्नुभयो “सरकारी बजेटको तुलनामा कैयौ गुणा धेरै रकम जुटाएर बनाएको सडकलाई तत्कालीन जिविसले जनसहभागिताको नमुना घोषणा गरी सम्मान गरेको थियो ।”

वि.स २०६७ मा महभिरदेखि सुरु भएको सडक निर्माण कार्यले वि.स २०७४ पुषमा धार्मीक पर्यटकीय स्थल पेरीभारानी ताल नजिकै पुगेपछि पूर्णता पाएको हो । तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करिब दश लाख बजेट उपलब्ध गराएका थिए । सडक मर्मतका लागि चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले पाँच लाख रुपैयाँ बिनियोजन गरेको छ ।

“चट्टानी पहाड र भिरालो भुगोलमा सडक खनेर गाडी गुडाउने चुनौतीलाई चीर्न सफल भएका छौ” अध्यक्ष पुर्जाले भन्नुभयो “स्थानीयबासीको आर्थिक, भौतिक, नैतिक र सक्रिय सहयोगले सफल भयांै ।” सडक निर्माणका लागि १९४ जना चन्दादाताहरुले दुई हजार देखि दश लाख रुपैयाँ सम्म सहयोग गरेका छन् ।

९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बाहूल्यता छ । रोजगारीका लागि बेलायत, हङकङ, अमेरीका, कोरिया, भारत, कतार, साउदी लगायत विश्वका विभिन्न देशका साथै काठमाडांै, पोखरा, बेनीमा बस्ने घराम्दीबासीहरुले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन् । IMG_0866सबैभन्दा बढी दश लाख ४५२ रुपैयाँ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षिया जेष्ठ नागरिक तिलीसरा गर्बुजाले शनिबार घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताहरुको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गर्नुभयो ।

बरिष्ठ चन्दादाता फगामीले अन्य ठाउँमा जनताले तिरेको करबाट विकास भएपनि घराम्दीमा गाउँ, देशका विभिन्न ठाउँ र विदेशमा रहेका स्थानीयबासीले कर तिरेर बचेको रकम विकासमा लगानी गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “सामान्य ट्याक मात्र खोलेको सडकलाई प्राबिधिक रुपमा उपयुक्त हुने र सहज रुपमा यातायातका सवारी साधन सञ्चालन हुने गरी स्तरोन्नती गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा गरेका छांै” फगामीले भन्नुभयो “यसलाई स्तारोन्नती गरेर सहज रुपमा यातायातका साधन सञ्चालन गर्ने बनाउन अब सरकारले सघाउनुपर्छ ।”

सडकमा मोटरसाईकल, जिप र ट्याक्टर चल्न थालेपछि स्थानीयबासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवत जावतका लागि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तिर्थबहादुर फगामीले बताउनुभयो ।

“महभिरदेखि घराम्दीसम्म करिब दुई घण्टाको उकालो पैदलयात्रा गर्नुपर्ने बाटो अहिले तिस मिनेटमा छोटिएको छ” फगामीले भन्नुभयो “बिरामीलाई समयमै अस्पताल पुराउन सकिएको छ । ढुवानी खर्च घटेको छ । विकास निर्माणको काम गर्न सजिलो भएको छ ।” गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामाग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । घराम्दी गाउँ आलु खेतीको पकेट क्षेत्र हो । पर्यटकीय महत्वको पेरी भरानी तालमा पुग्ने भक्तजन, पर्यटकमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष गमबहादुर फगामीले राज्यको न्युन सहयोग रहेको सडक निर्माणमा स्थानीयबासीले गरेको योगदान नमुना भएको बताउँदै सडकको प्रयोग गरेर गाउँमा नगद, पर्यटक, सुबिधा र समृद्धि भित्र्याउन सबै सक्रिय बन्नुपर्ने बताउनुभयो ।

सडकको स्तरोन्नती, घराम्दीदेखि घारलाई सडकले जोड्ने, गाउँ हेर्ने डिल, पेरीभारानी, टिकोट, महभिर झरना, पञ्चेवल डाँडा, डाँडाखर्क लगायत धार्मीक पर्यटकीय स्थलमा पूर्वाधार विकास, प्रचारप्रसार र प्रर्वद्धनमा जोड दिने वडा अध्यक्ष फगामीले बताउनुभयो ।

दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाई रहेको गोलो आकारको पेरी भरानी ताल अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्गको आकर्षण हो । उच्च स्थानमा रहेको आकर्षक प्यारीबाराही तालको पृष्ठभुमिमा अन्नपूर्ण र निलगिरी हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

तालमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ । हेरक वर्षको जनै पूर्णीमामा यहाँ बिशेष मेला लाग्ने गर्छ । घना गुरासे जंगलको बिचमा रहेको यस ताल सफा र सुन्दर छ । तालमा खसेको फोहोर र पातपतीङगर चराले टिपेर फाल्ने गरेको किम्बदन्ती छ । प्यारीबाराही ताल नजिकै रहेको गाउँ हेर्ने डिल नामको डाँडा अर्को पर्यटकीय सम्भावना बोकेको स्थल हो ।

यो डाँडाबाट म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका ग्रामिण बस्ती, धौलागिरी, अन्नपूर्ण रेञ्जका हिमशृङखला, सुर्योदय, सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सडक निर्माण समितिका अध्यक्ष दुतबहादुर पुर्जाको अध्यक्षता, कोषाध्यक्ष तथा ब्यवस्थापक तिर्थबहादुर फगामीको सञ्चालन र घराम्दी आधारभुत विद्यालयकी शिक्षीका बृन्दा थापाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा चन्दादाताहरुलाई सम्मानका साथै सडक निर्माण भएकोमा नाचगान गरेर खुसीयाली मनाइएको थियो ।