अमृत सुवेदी /पोखरा
बैशाख १९ गते । स्वामी नारायणका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिनै स्वामी नारायणले ज्ञान प्राप्त गरेको स्थान मुक्तिनाथ आउने भएका छन् । वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदा त्यही मौकामा मोदी मुक्तिनाथ दर्शनका लागि आउने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।
मोदीको गृहनगर गुजरातका ठूलो समुदायले स्वामी नारायणलाई भगवान मान्छन् । मोदी पनि स्वामी नारायणका भक्त हुन् । स्वामी नारायणले तपस्या गरेर ज्ञान प्राप्त गरेको ठाउँ नै नेपालको मुक्तिनाथ रहेको जानकार बताउँछन् । करिब २ सय वर्ष अगाडि स्वामी नारायण मुक्तिनाथ पुगेका थिए । यो कुरा उनले आफ्नो आत्मवृतान्तमा पनि लेखेका छन् ।
‘मुक्तिनाथ जाँदा(आउँदा पोखरा र विभिन्न ठाउँ स्वामीनारायणले बायोग्राफीमा उल्लेख गरेका छन्,’ बायोग्राफी अध्ययन गरेका वुद्धिजीवी विश्व सिग्देलले भने, ‘कालीगण्डकीको तिरैतिर आएर मुक्तिनाथमा तपस्या गरी ज्ञान प्राप्त गरेर पोखरा, काठमाडौं हुँदै स्वामीनारायण फर्केका थिए ।’
मोदी स्वामीनारायणकै सम्रदाय रहेको इतिहासमा दख्खल राख्ने सिग्देलले बताए । मुक्तिनाथमा ज्ञान प्राप्त गरेर फर्केपछिमात्रै स्वामी नारायणले भारतमा विचार फैलाएको उनी बताउँछन् । विश्वभर स्वामी नारायणका ६ करोडभन्दा बढी अनुयायी रहेको र उनीहरुको मुख्य तीर्थस्थल नै मुक्तिनाथ भएको सिग्देलले बताए । ‘दिल्ली लगायत विश्वका विभिन्न ठाउँमा स्वामी नारायणका अनुयायीले अक्षयधाम बनाएका छन् । उनीहरुको प्रमुख तीर्थस्थल मुक्तिनाथ हो,’ सिग्देलले भने, ‘उनी मुक्तिनाथ पुग्दा त्यो समुदायको उपस्थित देखिने र त्यसले धार्मिक, राजनीतिक हिसाबले पनि अर्थ राख्छ ।’
राजनीतिमा प्रवेश गर्नुअघि मोदी एकपटक मुक्तिनाथ आएर बसेको पनि जानकार बताउँछन् । सबैभन्दा बढी मुक्तिनाथ मन्दिर दर्शन गर्न पुग्ने विदेशी पर्यटक भारतीय हुन् । त्यहाँ पुग्ने अधिकांश भारतीय पर्यटक स्वामीनारायणका अनुयायी छन् ।
यस्तो छ मोदीको स्वागत तयारी
मोदी आउने खबरसँगै मक्तिनाथमा उनको स्वागत तयारी थालिएको छ । मंगलबार निरीक्षणका लागि जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनकपुरबाट मोदी मुक्तिनाथ दर्शनका लागि पुग्ने बताएसँगै यता स्वागत तयारी थालिएको छ ।
‘भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ आउने भनेपछि मन्दिर चिरिच्याट्ट पार्ने, हेलिप्याड बनाउनेदेखि सुरक्षा व्यवस्थासम्मको तयारी गरिरहेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘भीआईपी कक्ष निर्माणदेखि रङरोगन र सडक मर्मतका काम भइरहेका छन् ।’
मौसममा कुनै खराबी आएर रोकिनु परेको खण्डमा मुक्तिनाथको रानीपौवा बजार र सदरमुकाम जोमसोममा होटलको प्रवन्धसमेत मिलाइने प्रजिअ पौडेलले जानकारी दिए ।
उनको स्वागत र सुरक्षाका लागि पोखरादेखि मुख्यमन्त्री, मन्त्रीदेखि उच्च पदस्थ अधिकारी पुग्ने भएकाले बेनी(जोमसोम सडक मर्मतको काम पनि धमाधम भइरहेको छ । प्रदेश सरकार र केन्द्रीय मन्त्रालयबाट आएको अनौपचारिक निर्देशनअनुसार सुरक्षाको व्यवस्था गरेको पौडेलले बताए ।
मुस्ताङका नाकामा सुरक्षा कडा
चीनको तिब्बतसँग जोडिएको मुस्ताङका नाकामा अहिलेदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको प्रदेश ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए । मुस्ताङ प्रवेश गर्ने तीन नाका, म्याग्दीको घाँसा, मनाङको थोराङपास र डोल्पामा पनि सुरक्षा बढाइएको छ । ‘भारतीय प्रधानमन्त्रीले मुक्तिनाथ दर्शन गर्ने आधिकारिक जानकारी नआए पनि गृहमन्त्री रामबहादुर थापाले नै बोलेपछि त्यसैलाई आधिकारिक ठानेर तयारी थालेका हौं,’ गृहमन्त्री चुमानले भने, ‘अधिकारी जानकारी आएसँगै स्वागतमा कोको जाने, कसरी स्वागत गर्ने, केके सुरक्षा व्यवस्था अपनाइने लगायत सबै कुराको टुंगो लाग्ने छ ।’
नेपाल भ्रमणमा आएका बेला ४ वर्षअघि पनि मोदी मुक्तिनाथ जाने बताइएको थियो । मुक्तिनाथ दर्शन गरेसँगै नागरिक अभिनन्दन, खानेपानी उदघाटन लगायतका कार्यक्रम त्यसबखत तयारी भएका थिए । तर, उनको स्वागतमा सम्पूर्ण तयारी भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो ।
‘मुस्ताङवासीमा उत्साह’
मुस्ताङका सांसदले नरेन्द्र मोदीलाई मुक्तिनाथ दर्शनका लागि निम्तो दिन केही दिनअघि प्रदेश ४ को प्रदेश सभा बैठकमा सरकारसँग माग गरेका थिए । संयोगले त्यसको केही दिनपछि जनकपुरसँगै मुक्तिनाथको पनि मोदीले दर्शन गर्ने भएका छन् ।
‘मुस्ताङको पर्यटकीय विकास र मुक्तिनाथसम्म पर्यटकको ध्यान खिच्न पनि मोदीलाई भ्रमणको निम्तो दिन माग गरेका थियौं,’ सांसद इन्द्रधारा विष्टले भने, ‘यो भ्रमणले त्यहाँको धार्मिक तथा पर्यटकीय महत्व बढ्ने छ ।’
मोदीले मुक्तिनाथ दर्शन गर्ने जानकारीसँगै मुस्ताङवासीमा उत्साह छाएको सांसद विष्टको भनाइ छ । मोदीको मुक्तिनाथ भ्रमणले विश्वको ध्यान खिच्ने अर्का सांसद चन्द्रमोहन गौचनले बताए । ‘यो मुस्ताङवासीका लागिमात्रै होइन सिंगो नेपालकै लागि महत्वपूर्णको विषय हो,’ गौचनले भने, ‘मोदीको भ्रमणसँगै मुक्तिनाथ र मुस्ताङकोे पर्यटकीय महत्व बढ्ने छ ।’
पोखरामा पनि आर्लिने सम्भावना
मुक्तिनाथ दर्शनका क्रममा भारतीय प्रधानमन्त्री मोदी पोखरा पनि आइपुग्ने भएका छन् । मुक्तिनाथ दर्शनसँगै हेलिकोप्टरमा इन्धन भर्न पोखरामा केही समय रहने सुरक्षा स्रोतले जानकारी दिएको छ ।
मुक्तिनाथ दर्शनपछि मोदी चढेको हेलिकोप्टर इन्धन भर्नका लागि केही समय पोखरा विमानस्थलमा रहने तर भेटवार्ता वा अन्य कार्यक्रमका विषयमा भने टुंगो लागिरहेको छैन ।
‘रिफ्युलिङका लागि पोखरा विमानस्थलमा केहीबेर रहने सम्भावना छ तर कार्यबारे टुंगो लागिसकेको छैन,’ प्रदेश ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले भने, ‘पोखरा आउने भन्ने अहिलेसम्मको कार्यक्रम छ ।’
पोखराको पनि कार्यक्रम तयारी भइरहेको तर डिटेल आइसकेपछिमात्रै भन्न सकिने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । मुक्तिनाथ पुगेर फर्किंदा इन्धन भर्न पोखरा ओर्लन सक्ने अहिलेसम्मको जानकारी भएको उनले बताए । onlinekhabar.com