यसरी हुँदै छ मंगलामा शिक्षा र न्यायको काम

विकल्प न्यूज/बेनी
बैशाख १७ गते । mangala gapa
शिक्षकलाई जिम्मेवार बनाउदैछौं
सतप्रसाद रोका
अध्यक्ष
मंगला गाउँपालिका
हामी निर्वाचित भएर जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेको पछिल्लो एक वर्ष संक्रमणकालमै बित्यो । अहिलेसम्म कानुन नबन्दा हामीलाई संबिधानले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर धेरै गाहे अप्ठ्यारो परेको थियो । गाउँसभाबाट पारित भएका ऐनहरु अब कानुनको रुपमा कार्यान्वयन हुन्छन् । पालिकाको ऐनलाई टेकेर काम गर्न अब मार्ग प्रशस्त भएको छ । बिशेष गरेर हामीले मंगला गाउँपालिकाको शिक्षाको सुधारमा प्राथमिकता दिएका छौं । जसका लागि शिक्षकहरुलाई आफ्नो पेशा र विद्यालयप्रति पूर्ण जिम्मेवार हुनेगरी नीतिगत ब्यवस्था गरेका छौं । यस गाउँपालिकाका कुनै पनि शिक्षक गैरसरकारी संघ संस्थाको पदीय जिम्मेवारीमा रहन नपाउने गरी नीति बनाएका छांै । शिक्षकहरु पूर्ण रुपमा विद्यालय र विद्यार्थीको पढाईप्रति केन्द्रित हुनुपर्नेछ ।

न्याय दिन तयार छौं
सिर्जना केसी
उपाध्यक्ष
मंगला गाउँपालिका
गाउँसभाले न्यायीक समितिलाई पूर्णता दिनुका साथै उजुरीको किनारा लगाउँदा अपनाउनुपर्ने कार्यबिधी पास गरेको छ । यसअघि पनि हामीकहाँ आएका झैझगडा, साँध सिमाना, घरेलु हिंसा लगायतका मुद्दाहरुको सुनुवाई गरेर किनारा लगाईसकेका थियौ अब अझ सहज हुने छ । न्यायीक समितिले गरेको कामबाट बिशेष गरेर स्थानीय स्तरमा हिंसामा परेका महिलाहरुले राहत पाएको अवस्था छ । सामान्य झैझगडाको मुद्दामा अब अदालत, प्रहरी र प्रशासनमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । हामी संबिधानले दिएको अधिकारको प्रयोग गरेर जनतालाई सहज र सरल रुपमा न्याय दिलाउन प्रयासरत छांै । अझै प्रभावकारी रुपमा काम गर्न न्यायीक समितिका लागि कानुन अधिकृत, श्रेष्ता राख्ने जस्ता अदालती प्रक्रिया अनुसारका काम गर्ने जनशक्ति तथा संरचनाको व्यवस्था छिटो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । चुनौतीका बावजुद अधिकांश महिलाको नेतृत्वमा रहेको न्यायीक समितिले आफ्नो पदीय दायीत्व पुरा गरेर क्षमता देखाउने अवसर पनि हामीसंग छ ।