सन्तोष गौतम /विकल्प न्यूज
बेनी १४ बैशाख ।
पर्वतको जलजला गाउँपालिकाको कार्यालय ४ नम्बर वडाको लामाखेतमा स्थानान्तरण भएको छ ।
दुई तिहाई बहुमतबाट गाउँसभाले गरेको निर्णय, संघीय सरकारको मन्त्रिपरिषद्को निर्णय र राजपत्रमा प्रकाशन भएको सूचना अनुसार स्थाई केन्द्र लामाखेतमा कार्यालय स्थापना भएको हो । यसअघि ३ नम्बर वडामा पर्ने अस्थाई केन्द्र साविक माझफाँट गाविसको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुदै आएको थियो ।
लामाखेतमा दुई वटा घर भाडामा लिएर स्थापना गरिएको कार्यालयबाट शुक्रबार बिहान धार्मीक बिधी अनुसार सेवा सुभारम्भ गरिएको ४ नम्बर वडाका अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो ।
बैशाख ९ गते गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सर्वसहमतीमा कार्यालय स्थानान्तरण गर्ने निर्णय गर्दै वडा अध्यक्ष मल्लको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र कार्यपालिका सदस्य माया शर्मा रिजाल सदस्य रहेको समिति गठन गरेको थियो ।
पहिलो गाउँसभामा दुई तिहाई बहुमत सदस्यको सर्मथनमा भएको निर्णय र गत फागुन तेस्रो हप्ता राजपत्रमा प्रकाशीत सूचना अनुसार लामाखेतमा केन्द्र स्थापना गरिएको ८ नम्बर वडा नाग्लीवाङका अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो ।
यसअघि तत्कालीन स्थानीय तहको संख्या, सिमाना र नामांकनका लागि बनेको आयोगले साविकका बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, नाग्लीवाङ र बनौ गाविसलाई समेटेर बनेको जलजलाको अस्थाई केन्द्र वडा न. ३ स्थित साविक माझफाँट गाविसलाई कायम गरेको थियो ।
७ नम्बर वडा मिलनचोक र ३ नम्बर मल्लाजमा केन्द्र कायम हुनुपर्ने दुईथरी पक्षको बिवाद, दवाव र आन्दोलनका बिच भएको स्थानीय तह निर्वाचनपछि गाउँसभाले बहुमतको आधारमा लामाखेत केन्द्र तोक्ने निर्णय गरेको थियो ।