खुल्यो करबाकेली पदमार्ग

सुरेन्द्र राना/म्याग्दी

बैशाख १३ गते ।

karvakeli-trek-20

    संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग एक्सप्लोर गरिएको छ ।

करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाई एवं काठमाडौंस्थित कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा एक्सप्लोर गरिएको पदमार्गले पुनहिल, फूलबारी र करबाकेली थानलाई बेनी बजारसँग जोड्छ ।

karvakeli-trek-4कन्सेप्ट नेपालका पर्यटन विज्ञहरु पवन शाक्य, सुरेन्द्र राना, अमृत भादगाउँले, ज्योती सिंह सहितको टोलीले नयाँ पदमार्ग एक्सप्लोर गरेको हो । टोलीको नेतृत्व समितिका संरक्षक चाम बहादुर गर्बुजा पुनले गरेका थिए ।

सबै उमेर समूहका पदयात्रीले पदयात्रा गर्न सक्ने करबाकेली मार्गमा होटल तथा लज सुविधा छ । यात्रामा जैविक विविधता, धौलागिरि, अन्नपूर्ण र मानापाथि सहितका हिमाल, पुन समुदायको संस्कृति एवं जीवनशैली अवलोकन गर्न पाइन्छ ।

साँस्कृतिक हिसाबले समेत करबाकेली क्षेत्र उत्तम छ । गाउँमा पुख्र्यौली नाच, यानीमाया, सालैजो, शिरफूले भाकामा नाचगान गरिन्छ । गाउँलेले आफ्नो संस्कृति जोगाएका छन् ।

karvakeli-trek-1काफल डाँडामा करबाकेली थान छ । खासमा करबाकेली समग्र पुन समुदायका कुलदेवता हुन् । तिनै देवताको नाउँमा यो पदमार्ग नामाकरण गरिएको समितिका सचिव रवि पुन बताउँछन् ।

करबाकेली पदमार्गले तीन जिल्लालाई समेट्छ, कास्की, म्याग्दी र पर्वतलाई । पोखराबाट वीरेठाँटीसम्म बस वा जीपमा गएर पदयात्रा सुरु हुन्छ । पहिलो बास उल्लेरीको उकालो कटेर बस्नु पर्छ । दोस्रो दिन लन्च खान घोडेपानी पुगिन्छ ।

तेस्रो दिन बिहानै पुनहिलबाट हिमाल र सूर्योदय अवलोकन पछि लन्च खान करबाकेली मार्गको फूलबारी पुग्न सकिन्छ । त्यहाँबाट हिँडेर साँझ काफलडाँडाको करबाकेलीमा बास बस्नु पर्छ ।

karvakeli-trek-19करबाकेलीबाट बेनी निस्कने चार वटा विकल्प छन् । पहिेलो बैसरी हुँदै बेनी, दोस्रो रिमा हुँदै औल गाउँ भएर बेनी, तेस्रो महभीरबाट मल्लाज भएर बेनी र चौंथो नागी हुँदै पर्वतको फलामे डाँडा भएर बेनी निस्कने मार्ग । पर्यटकले आफ्नो समय अनुसार रुट रोज्न सक्नेछन् ।

स्थानीयले पर्यटन प्रवद्र्धन एवं विकासका लागि फूलबारीका पर्यटनकर्मी यामबहादुर पुनको संयोजकत्वमा करबाकेली पर्यटन व्यवस्थापन समिति गठन गरेका छन् । समितिले पदमार्ग सुधार, स्थानीयलाई तालिम व्यवस्था र पदमार्गको मार्केटिमा पहल गर्ने अध्यक्ष यामबहादुर बताउँछन् ।

karvakeli-trek-6समितिले करबाकेली पदमार्गको नक्सा, बृत्तचित्र, क्यालेन्डर, पोस्टर, बुकलेट लगायत उत्पादन गर्दैछ । ती सामाग्री सरोकारवालालाई निःशुल्क वितरण गरिने समितिका संरक्षक चामबहादुर बताउँछन् ।

एक्सप्लोरेशन टिमका कान्छा सदस्य १२ वर्षे आश्रय न्यौपाने जीवनको पहिलो पदयात्रामा करबाकेली क्षेत्र पुगेका थिए । उनी पनि प्राकृतिक सौन्दर्य र गाउँलेको आत्मीय व्यवहारले मोहित बने । उनले यात्राभरि मोबाईल फोनमा तस्बिर र सेल्फी खिचिरहे ।  karbakeli 7अग्र्यानिक परिकार पाइने करबाकेली क्षेत्रले साँच्चै मोहनी लगाउँछ । बिशेषतः आन्तरिक पदयात्रीका लागि समेत सस्तो र सजिलो गन्तव्य बन्न सक्छ । म्याग्दी भ्रमण वर्ष २०७५ का अबसरमा एक्सप्लोर गरिएको करबाकेली पदमार्ग चाँडै लोकप्रिय हुनेमा आशावादी बन्न सकिन्छ । setopati.com