आफ्नै पालिकामा पुग्न ईन्डिया गए जस्तो भयो– राम्चेबासी

विकल्प न्यूज/बेनी
बैशाख ११ गते । pokharebagar and ramche vdcअन्नपूर्ण गाउँपालिका ८ राम्चेका बासिन्दाहरु गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि कम्तीमा तिन दिन समय बिताउनुपर्ने बाध्यता छ । यातायात र सडकको सहज सुबिधा नहुँदा ६ नम्बर वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिको कार्यालयमा पुगेर सेवा लिन स्थानीयबासीलाई सास्ती भएको हो । पर्वतको जलजला देखि सदरमुकाम बेनी झरेर पुन रघुगंगा गाउँपालिका हुदै पोखरेबगर पुग्दा गाडीमा पुरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो ।

“चुनावमा सिहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिदाँ भारत गएजस्तो भएको छ” पुर्जाले भन्नुभयो “कार्यालयमा पुग्दा दरबन्दि अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाईका साथै आर्थिक कारोबारका लागि पूनसदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।”

४२० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगेपनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन् । महभिर र बेनी देखि पर्वतको जलजला गाउँपालीका हुदै राम्चेमा सडक पुगेपनी कच्चि र जिर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन् । करिब बिस किलोमिटर दुरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जिर्ण र अप्ठ्यारो हुँदा ट्याक्टर बाहेकका सवारी साधन चल्दैनन् ।

“कच्चि अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ” राम्चेका फसबहादुर गर्बुजाले भन्नुभयो “गाउँपालिकाको केन्द्रमा पुग्न बिस देखि पच्चिस हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारण देखि बैठक, सभा, कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती ब्यहोर्नु परेको छ ।

आलु, तरकारी, खरायो, खसीबोका बजार पठाउन र सिमेन्ट, बालुवा, गिट्टी, रड लगायत निर्माण तथा दैनिक उपभोग्य सामान ढुवानीमा धेरै खर्च लाग्ने गरेको छ । राम्चेबासीको सहजताका लागि गाउँपालिकाले यस वर्ष पचास लाख रुपैयाँ अनुदानमा महभिर हिस्तान राम्चे सडक मर्मत योजना सञ्चालन गरेको जनाएको छ । सडकको मर्मत, स्तरोन्नतीका साथै घुम्ती शिवीर मार्फत गाउँमै सेवा उपलब्ध गराउन पहल गरिएको वडा अध्यक्ष खमबहादुर गर्बुजा पुनले बताउनुभयो ।

“महभिरदेखि हिस्तान राम्चे जोड्ने सडकलाई स्तरोन्नती गरी नियमित गाडी चलाउन प्राथमिकता दिएका छौ” अध्यक्ष पुनले भन्नुभयो “जनताको सुबिधाका लागि पालिकाका कर्मचारी, प्राबिधिक ल्याएर वडामै योजना सम्झौता गराउने र अन्य विषयगत कार्यालयको सेवाका लागि घुम्ती शिवीर सञ्चालन गर्ने सोचेको छु ।”

कृषि, पर्यटन, पशुपालन र वनपैदावारको हिसावले प्रशस्त सम्भावना बोकेको राम्चेबाट सेवा, सुबिधा र अवसरको खोजीमा बसाईसराई गरेर सहरी क्षेत्रमा जाने बढ्दो क्रमसंगै संयौ हेक्टर खेतीयोग्य जमिन बाँझीएको छ । सहज रुपमा सेवा सुबिधा पाउने वातावरण बनाउन सकेमा स्थानीयबासीले सिहदरबार गाउँमा आएको अनुभव गर्न पाउने देखिन्छ ।

यसैबीच राम्चेमा मंगलबार सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष खमबहादुर गर्बुजाले विभिन्न चाडपर्वको अवसरमा आयोजना हुने मेलाजात्रालाई व्यवस्थित र सुरक्षित गराउन गाउँपालिकाले गरेको निर्णयको राम्चेमा कार्यान्वयन भएको बताउनुभयो । वडा सदस्यहरु यामबहादुर गर्बुजा, गेममाया पुन, देबकुमारी खोरजा, एलीना रसाईली, वडा सचिव कृष्ण विश्वकर्मा, हिमाञ्चल माविका प्रअ तथा गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष रमन पुनले उत्तर दिनुभएको थियो ।

महासंघका अध्यक्ष पुनले अन्नपूर्ण गाउँपालिकाका ३७ वटै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि पुर्व प्राथमिक र कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको जानकारी गराउनुभयो । यसैगरी १० वटा माविमा ईन्टरनेटको माध्यमबाट अध्यापन (ईटिचीङ) गराउन गाउँपालिकासंग छलफल भएको बताउनुभयो ।