बेगमा विदेशबाट बिप्रेषणसंगै विकास भित्रीयो

सन्तोष गौतम/विकल्प न्यूज
बैशाख ९ गते । begkhola 1रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशीएका रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाहरुले गाउँमा करोडौको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशीएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीहरुको पहलमा बेगमा करोडौ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो ।

“बेगको पूर्वाधार विकासमा सरकारको अनुदानको अलावा पोखरा, काठमाडौं र प्रवासमा बस्नेहरुको आर्थिक तथा स्थानीयबासीको श्रमदानले महत्वपूर्ण सहयोग पुगेको छ” वडा अध्यक्ष फगामीले भन्नुभयो “विदेशबाट बेगमा रेमिट्यान्स (बिप्रेषण)संगै विकास समेत भित्रीएको छ ।”

देशका विभिन्न सहर र विदेशमा पुगेका बेगखोलाबासीहरुले बेगखोला कल्याणकारी समाज गठन गरि गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडांै, बेलायत, हङकङ, जापान, कोरिया, अमेरीका, कतार, बहराईन, सिंगापुर लगायतका देशमा पुगेका बेगका बासिन्दाहरु समाजमा आवद्ध भएका छन् । DSC_1124समाजको पहलमा वि.स २०७० मा छ किलोमिटर दुरीको बेगखोला–देउराली नमुना हरित सडक र पाँच किलोमिटर दुरीको तिप्ल्याङ–बादुक सडक निर्माण भएको थियो । बेनी–जोमसोम सडकको बेगखोला देखि देउराली स्थित वडा कार्यालय भवन जोड्ने सडक निर्माणका लागि तत्कालीन गाविसले चार लाख ६० हजार र जिविसले एक लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएकोमा प्रवासीबाट ५६ लाख ८३ हजार ११५ रुपैयाँ सहयोग जुटेको थियो ।

देस्रो विश्वयुद्धमा बहादुरी देखाएवापत बेलायत सरकारको उच्च सम्मान भिक्टोरीया क्रस (भिसी) पदकबाट सम्मानित स्वर्गीय तुलबहादुर पुनको स्मृतिमा तिप्ल्याङ देखि उनको जन्मगाँउ बादुक जोड्ने ५ किलोमिटर सडक निर्माण गर्न गाविसले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएकोमा बिदेशबाट ३७ लाख ५८ हजार ७४५ रुपैयाँ सहयोग भएको थियो । DSC_1072प्रवासी र स्थानीयबासीको पहलमा बेग देउरालीमा सभाहल सहितको सामुदायिक भवन समेत निर्माण भएको छ । उक्त भवनको भित्ता बेगखोला–देउराली र तिप्ल्याङ–बाँदुक सडक निर्माणमा सहयोग गर्ने चन्दादाताहरुको नाम सहितको शिलालेखले भरिएको छ ।

बेगको तिप्ल्याङ स्थित कालिका आधारभुत विद्यालयमा स्वर्गीय भिसी पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा वि.स २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । वि.स २०७२ मा बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो ।

बेगखोला युवा क्लबको पहलमा वि.स २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । बादुकको श्रीकृष्ण र औलको पार्वती आधारभुत विद्यालयमा भवन तथा खेलमैदान निर्माणका लागि समेत समुदाय तथा प्रवासीको लगानी भएको स्थानीयबासी समेत रहेका मुक्तिधाम मावि भगवतीका स्रोत व्यक्ति दुतबहादुर गर्बुजाले बताउनुभयो ।

हरेक वर्ष आफ्नो जन्मथलोको विकासका लागि कुनै न कुनै अभियान सञ्चालन गर्दै आएको समाजले यस वर्ष बेग स्थित महादेव माविको भवन पुननिर्माण अभियान सञ्चालन गरेको छ । वि.स २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जिर्ण बनेपछि समाजको अगुवाईमा सुरु भएको अभियानका क्रममा शनिबारसम्म एक करोड ३३ लाख रुपैयाँ सहयोगको घोषणा भएको समाजका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।

विश्वभर रहेका बेगखोलाका बासिन्दा र पूर्व विद्यार्थीहरुलाई समेटेर अभियान सञ्चालन गरिएको एनआरएनए बेलायतका अध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघ मोनाका उपाध्यक्ष समेत रहेका फगामीले बताए । DSC_1058विद्यालयको कक्षा कोठा भवनको स्वर्ण जयन्तीको अवसर पारेर शनिबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले शिलन्यास गर्नुभयो । कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनीक कक्ष सहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ ।

कक्षा १० सम्म पठनपाठन हुने १७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि प्रवासी पूर्व विद्यार्थीहरुले ३२ लाख रुपैयाँको विभिन्न अक्षयकोष स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीहरुको प्रोत्साहनकाका लागि छुट्टा छुट्टै अक्षयकोष रहेका छन् ।

ग्रामिण क्षेत्रमा रहेको विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्व विद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताउनुभयो । व्यक्तिगत रुपमा १३ वटा ल्यापटप उपलब्ध गराएका बेलायतमा रहेका पदमबहादुर गर्बुजाको पहलमा कम्प्युटर कक्षा सञ्चालनका लागि २३ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । DSC_1078सो अक्षयकोषको ब्याज निजी स्रोतका तिन जना शिक्षकको तलब र कम्प्युटर कक्षा सञ्चालनमा परिचालन हुने गरेको छ । समाजका अध्यक्ष फगामीको पहलमा स्थापना भएको ५ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा एसईई परिक्षामा विद्यालयबाट सर्र्वोकष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई वार्षिक दशदश हजार तथा उत्तिर्ण हुनेलाई जनहि दुईदुई हजार रुपैयाँ प्रदान गरिदै आएको छ ।

बेलायतमा रहेका युबहादुर गर्बुजाको पहलमा स्थापनमा भएको एक लाख रुपैयाँको शिक्षक अभिभावक कोषबाट वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकहरुलाई प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । योगकुमार फगामीको व्यक्तिगत लगानीमा स्थापना भएको ६० हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रवृत्ती कोषबाट वार्षिक रुपमा १–५, ६–८ र ९–१० तहमा उत्कृष्ट अंक प्राप्त गर्ने तिन जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरीदै आएको छ ।

कम्प्युटर कक्षाका लागि गाउँपालिकाले यस वर्ष पाँच लाख उपलब्ध गराएको छ । यसअघि शिक्षा कार्यालयले सूचना प्रबिधि कार्यक्रम अन्तरगत छ लाख पचास हजार सहयोग गरेको थियो । कक्षा ६ देखि माथि ऐच्छिक विषयको रुपमा कम्युटर विषयको पठनपाठन हुने गरेको छ ।

फेसबुक, ट्वीटर, भाईबर, ईमो, म्यासेन्जर लगायतका सामाजिक सञ्जाल मार्फत संसारको विभिन्न ठाउँमा छरिएका बेगखोलाबासीहरुसंग छलफल गर्ने र सहयोग जुटाउने गरिएको बेगखोला कल्याणकारी समाज हङकङका संयोजक नक्क गर्बुजाले बताउनुभयो । अभियान सञ्चालनका लागि सामाजिक सञ्जालको प्रयोगले सजिलो बनाएको उहाँको अनुभव छ ।

२०७३ भदौ १७ गते राती बेगखोलामा आएको बाढीले विस्थापित बेगखोलाका ११ घरपरिवारको पुनस्थापनाका लागि समेत प्रवासीहरुले तिस लाख सहयोग जुटाएका छन् । पुनस्थापनाका लागि जग्गाको व्यवस्थापन हुन नसक्दा संकलित रकम परिचालन हुन सकेको छैन् ।

जिल्ला प्राबिधिक कार्यालय मार्फत करिब तिन करोडको लागतमा बेग बादुक जोड्ने ३६५.८ मिटर लामो झोलुङे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका र वडा कार्यालयले सो पुलदेखि देउरालीसम्म करिब ४५ लाख रुपैयाँको लागतमा यस वर्ष एक किलोमिटर पक्कि पदमार्ग निर्माण सुरु गरेका छन् ।

खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत करिब सात करोड रुपैयाँको लागतमा साबिक बेग गाविसका सबै घरमा खानेपानी सुबिधा पुराउने उद्देश्यले सञ्चालित बृहत बेगखोला खानेपानी आयोजना निर्माण कार्य असी प्रतिशत पुरा भएको छ । नवविकल्प साप्ताहिकमा प्रकाशित