सन्तोष गौतम /विकल्प न्यूज
चैत २८ गते । पर्यटक आकर्षीत गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको गुरासँको जंगल संरक्षणमा स्थानीयबासी अग्रसर भएका छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँस पर्यटक भित्र्याउने माध्यम बनेको छ ।
अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा फैलीएको राष्ट्रिय फुल लालीगुराँसको जंगल संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न स्थानीय तह र समुदायले अग्रसरता देखाएका हुन् । पर्यटकीय बस्ती घोडेपानीका बासिन्दाले गुराँस बचाउनका लागि गुराँसको रुख नकाट्ने नियम बनाएका छन्् ।
जथाभावी रुपमा काठ, दाउराका लागि रुख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ समेत गरिएको घोडेपानीका अगुवा टेकसर बुद्धुजाले बताउनुभयो ।
नेपालमा पाईने ३२ प्रजातीका मध्य घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी लगायत ८ प्रकारका गुराँस पाइने एक्यापले जनाएको छ । एक्यापका अनुसार यस क्षेत्रको जंगललाई नेपालकै ठुलो गुराँसको जंगल भएको दावी गरिएको छ । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँसको जंगल पर्यटक आकर्षित गर्ने प्रभावकारी माध्यम बनेको छ ।
पृष्ठभुमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यमा रमाउन चैत, बैशाख महिनामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल हुने गर्छ । घोडेपानी क्षेत्रको प्राकृतिक सौन्दर्यले मोहीत बनाएको पर्यटकहरु बताउँछन् । यसपाली भनै बेमौसमी हिमपात र असीनाले गुराँसको रंग चाँडै उडेको छ ।
लालीगुराँसको जंगलको पृष्ठभुमिमा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी हिमालको साथै सुर्योदयको अवलोकन र प्राकृतिक सौन्दर्यमा रमाउन पाउनु यस क्षेत्रको बिशेष आकर्षण हो । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग सञ्चालन भएको छ । गुराँसको जंगललाई प्राकृतिक बगैचा बनाई वन्यजन्तु र पंक्षिहरुको संरक्षण गरी पर्यटक भित्र्याउने योजना रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
अव्यवस्थित रुपमा जंगल मासेर खनिने सडक र वन डडेलो गुराँस संरक्षणको प्रमुख चुनौतीको रुपमा देखिएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायका साथै पर्यटनसंग सम्बद्ध संघ संस्थाले एकिकृत रुपमा घोडेपानी क्षेत्रमा पाईने गुराँसको अध्ययन अनुसन्धान, संरक्षण र प्रचारप्रसार गर्न सर्न सकेमा पर्यटन विकासमा सहयोग पुग्ने देखिन्छ ।
गुराँसको राष्ट्रिय बगैचा बनाउने योजना छ ः अध्यक्ष डमवहादुर पुन
अन्नपूर्ण गाउँपालिका नेपालको राष्ट्रिय फुल लालीगुराँस अन्नपूर्ण गाउँपालिकाको घोडेपानी क्षेत्रको चिनारी हो । शिख, घार, हिस्तान, राम्चे र कास्कीको दाङसीङ र घान्द्रुक क्षेत्रमा फैलीएको यो क्षेत्र नेपालकै ठूलो लालीगुराँसको जंगलको रुपमा परिचीत छ । अन्नपूर्ण गाउँपालिकाको चिनारी घोडेपानी क्षेत्रको गुराँसे जंगल हो । नेपालमा पाईने ३२ मध्य यहाँको जंगलमा ८ प्रजातीका गुराँस पाईन्छ । गुराँसको जंगल, हिमाल, सुर्योदय अवलोकन र मनोरम प्राकृतिक वातावरणमा रमाउन यहाँ स्वदेशी, विदेशी पर्यटक आउँछन् ।
लालीगुराँसको संरक्षण र यसबाट पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने मेरो सरोकार तथा चिन्ताको विषय हो । सडक निर्माण गर्दा गुराँसको जंगललाई बचाउने प्रयास गरिएको छ । वन डडेलो नियन्त्रणमा समुदायको साथ र सहयोग आवश्यक छ । मेरो कार्यकालमा घोडेपानी क्षेत्रको गुराँसको जंगललाई राष्ट्रिय गार्डेन (गुराँस बगैचा) बनाएर पर्यटक घुमाउने र डलर भित्र्याउने सोचेको छु ।
गुराँसको रुखहरुका साथै यहाँ बसोबास गर्ने वन्यजन्तु र पंक्ष्ीाहरुलाई संरक्षण गर्ने स्थानीयबासी, पर्यटनसंग सम्बन्धित संघ संस्था, पर्यटन वोर्ड, पर्यटन ब्यवसायी, प्रदेश र संघीय सरकारसंग सहयोगको अपेक्षा राखेको छु । गाउँपालिकाले सबैसंगै समन्वय र सरकार्य गरेर घोडेपानी क्षेत्रको जंगललाई राष्ट्रिय फुल लालीगुराँसको बगैचाको रुपमा स्थापना गरेर स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउन सकिन्छ । यसबाट गाउँपालिका, स्थानीयबासी, प्रदेश र संघीय सरकारलाई धेरै सहयोग पुग्छ ।