म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल

विकल्प न्यूज/बेनी
चैत २८ गते ।Turist Photo Caption म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा चहलपहल सुरु भएको छ । सिजन सुरु भए सँगै आन्तरिक एवम् बाह्य पर्यटकहरुको चहलपहल वढेको हो । जिल्लाको घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, टोड्के, धौलागिरी र अन्नपूर्ण आधार शिवीर, धौलागिरी चक्रिय, गुरील्ला पदमार्ग, सिंगा र भुरुङमा रहेका तातोपानी कुण्डहरुमा पर्यटकको निकै भीड लागेको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीका होटल व्यवसायी टेकसर बुदुजाले बताउनुभयो ।

दैनिक चारसय देखि पाँचसयको हारहारीमा आन्तरिक एवम् बाह्ै पर्यटकहरु पुनहिलमा आउने गरेको उहाँले बताउनुभयो । पाखैभरी फुलेका गुराँससँग खेल्न पर्यटकको भीड लागेको बुदुजाले बताउनुभयो ।

यसै गरी गर्मी मौसम सुरु भएसँगै म्याग्दी हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा जाने पर्यटक तथा तिर्थयात्रीहरुको चाप समेत बढेको छ । मुस्ताङमा पनि पर्यटक आगमनमा वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

देशको राजनीतिक अवस्था, शान्ति सुरक्षा राम्रो भएको र अनुकुल मौसम भएकाले पदयात्रा तथा हिमाल आरोहणका लागि यसपाली विगतका वर्षको तुलनामा पर्यटक आगमन राम्रो भएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । स्थानीय तहले व्यवस्थित पदमार्गको विकास,पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र भौतिक पूर्वाधारको निर्माणमा ध्यान दिनसकेमा पर्यटकको अझै वृद्धि हुनसक्ने उहाँको भनाई छ ।

म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह सँगको समन्वयमा नयाँ वर्ष २०७५ देखि म्याग्दी भ्रमण वर्षको आयोजना गरेको छ । म्याग्दी भ्रमण वर्षका रुपमा मनाउन लागिएकाले पनि म्याग्दीमा पर्यटकको वृद्धि हुने अपेक्षा गरिएको म्याग्दी उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

भ्रमण वर्ष अबधिभर जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार,पर्यटकको स्वागत र अन्य पर्यटन प्रवर्दनमुलक कार्यक्रमहरुको आयोजना गरिने द्धितीय उपाध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहेको घोडेपानी, पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको लागि बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका लालीगुराँस यो यामको बिशेष आकर्षण हो । हिमशृङखला र सुर्योदयका साथै पाखाभरी फुलेका रंगीबिरंगी लालीगुरास अवलोकन गर्न पाउँदा पर्यटकहरु दङग परेका छन् ।

पर्यटकको आगमन वृद्धिसंगै होटलमा चाप बढेको घोडेपानीको धौलागिरी होटलका सञ्चालक ओमनारायण पुनले बताउनुभयो । पर्यटक आगमनको क्रम बैशाख दोस्रो सातासम्म बृद्धि हँुदै जाने पर्यटक तथा होटल व्यवसायीहरुले बताएका छन् ।

कास्कीको नयापुल, घान्द्रुक, म्याग्दीको पोखरेबगर, मोहरेडाडा हँुदै पुगीने पहाडी बस्ती घोडेपानीमा २३ वटा सुबिधा सम्पन्न होटलहरु रहेका छन् । जहा दैनिक आठ सय देखि एक हजार जना सम्म बास बस्न सक्छन् ।