दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने

गोपाल छन्त्याल/ बेनी
चैत २४ गते । darbang-bazarम्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो ।

मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’ हुनेछ । दुबै सहकारीको शेयरपुँजी, वित्तिय प्रतिवेदन र सम्पत्ति प्रतिवेदन सहमति जुटीसकेको छ । पश्चिम क्षेत्रमा सशक्त रुपमा आर्थिक गतिविधी सञ्चालन गर्न दुई सहकारी मर्ज गर्ने सहमति भएको दरवाङ बचच तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माले जानकारी दिए ।

उनका अनुसार, दुबै सहकारीका सञ्चालक समितिले मर्जका लागि निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि गाउँपालिका र सहकारी डिभिजनमा प्रस्ताब लैजाने तयारी गरेका छन् । ‘गाउँपालिकाबाटै यसको टुँगो लाग्छ भने सजिलो भयो नभए डिभिजन कार्यालयमा जान्छौँ, अझै केहि दिन लाग्नेछ’, उनले भने, ‘कानुनी प्रक्रिया पूरा भएपछि हामीले औपचारिक घोषणा गर्नेछौँ ।’

दुई सहकारी मर्ज भएपछि करीब ४० करोड निक्षेप पुग्नेछ । दुबै सहकारीले दरबाङ बजारमा आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । मर्जपछि २ करोड ३० लाख रुपैयाँको उक्त भवनलाई थप व्यवस्थित बनाईने तयारी भएको छ ।

दुई सहकारीमा गरि करिब ३६ सय शेयर सदस्य रहेको बताईएको छ । पश्चिम क्षेत्रका दर्जन भन्दा बढी बस्तीमा आर्थिक कारोबार गर्दै आएको दुई सहकारीले रेमिट्यान्ससँगै कृषिमा बढी कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय दरवाङमा बैंकहरुको बढ्दो प्रभावका कारण पनि सहकारीहरु मर्ज गर्नुपर्ने अवस्थामा पुगेको बताईएको छ । दरवाङसँगै बेनीका केहि सहकारीहरु पनि मर्जको तयारीमा जुटेका छन् ।