मंगलाको प्रोफाईल बनाउने तयारी

विकल्प न्यूज/बेनी
चैत २३ गते ।

mangala palikaम्याग्दीको मंगला गाउँपालिकाको प्रोफाईल बनाउने तयारी भएको छ । गाउँपालीकाको बस्तुअवस्था, समस्या र सम्भावनाको पहिचानका लागि प्रोफाईल बनाउन लागिएको हो । योजना तथा कार्यक्रम तय गर्न आवश्यक पर्ने तथ्याङ्क र बस्तुगत विवरण जुटाउनका लागि प्रोफाईल निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

प्रोफाईल निर्माणको विषयमा बाबियाचौर स्थित गाउपालिकाको कार्यालयमा बुधबार जनप्रतिनिधि, राजनीतिक दल, विषयगत कार्यालयका प्रतिनिधी र सरोकारवालाहरुबीच छलफल भएको छ । गाउपालिकाले आयोजना गरेको कार्यक्रममा प्रोफाईलमा के कस्ता विषयलाई समावेश गर्ने भन्ने विषयमा छलफल भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु पौडेलले बताउनुभयो । कार्यक्रमको वन अधिकृत मदन सुवेदी र सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले सहजिकरण गर्नुभएको थियो ।

साविकको कुहु, बाबियाचौर, बरंजा र अर्मन गाविस समेटीएको मंगला गाउपालिकामा कृषि, पशुपालन र पर्यटन क्षेत्रको सम्भावना छ । सम्भावना, समस्या, आवश्यकता र बस्तुअवस्थाको विश्लेषण गरेर प्राथमिकता निर्धारण गरी योजना तय गर्न प्रोफाईल आवश्यक रहेको जनप्रतिनिधिहरुले बताएका छन् ।