मालीकामा नौ खानेपानी आयोजना

विकल्प न्यूज/बेनी
चैत २३ गते ।malika 0 मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौ वटा खानेपानी आयोजना सञ्चालन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चार वटा वडामा आयोजनाहरु सञ्चालन भएका हुन् ।
उपभोक्ता समिति मार्फत कार्यान्वयनको चरणमा रहेका आयोजनाबाट ५४७ घरधुरीका तिन हजार २७७ जनसंख्या लाभान्वित हुने गाउँपालिकाकी परियोजना संयोजक कमला शर्माले जानकारी दिनुभयो । सबै आयोजना एक घर, एक धाराको अवधारणा अनुसार निर्माण हुन लागेका हुन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाको घरघरमा मिटर सहितको निजी धारा जडान गरेर खानेपानी सुबिधा उपलब्ध गराउन लागिएको हो । ४ नम्बर वडा ओखरबोटमा सबै भन्दा बढी छ वटा, ७, २ र ३ मा एकएक वटा आयोजना सञ्चालनमा छन् । सबै आयोजना चालु आर्थिक वर्षभित्रनै सम्पन्न गर्ने लक्ष्य अनुसार तिब्र रुपमा काम भैरहेको संयोजक शर्माले बताउनुभयो ।
एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँ लागत अनुमान गरिएको बिम लिफ्ट खानेपानी तथा सरसफाई परियोजना मार्फत ७ नम्बर वडाका १११ घरधुरी लाभान्वित हुनेछन् । ४ नम्बर वडामा पर्ने ओखरबोटको सिस्नेरी, महभिर, चिउरीबोट, फुलबारी, ओखरबोट र छापमा छुट्टा छुट्टै आयोजना सञ्चालन भएको छ । २ नम्बर वडा रुममा ३६ लाख ७० हजार २८ रुपैयाँको लागतमा निर्माण हुने पाँझिक्ने खोला खानेपानी तथा सरसफाई आयोजनाबाट ५६ घरधुरी र ३ नम्बर वडामा पर्ने डाँडागाउँमा ७० लाख ४९ हजार १४९ रुपैयाँको लागतमा ठूलागैरा खानेपानी तथा सरसफाई आयोजना सञ्चालन भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले परियोजना मार्फत सञ्चालीत खानेपानी तथा सरसफाई आयोजनाको लागि चालु आर्थिक वर्षमा बिनियोजित दुई करोड ५८ लाख ३० हजार रुपैयाँ मध्य आठ महिनाको अवधिमा दुई करोड ५५ लाख खर्च भएको बताउनुभयो ।
परियोजना मार्फत खानेपानीको समस्या रहेका अन्य बस्तीहरुमा पनि आयोजना सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत ५ नम्बर वडा देविस्थानमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माणाधिन अवस्थामा छ । गाउँपालिकाको केन्द्र दरवाङ बजारमा पनि डिभिजनले खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ ।