झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न सांसद केसीको ध्यानकर्षण

विकल्प न्यूज/बेनी

चैत २३ गते ।

binod kcम्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ ।

प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र कुईनेमंगले गाविसका नागरीकहरुलाई भौगोलिक विकटता रहेकाले उनीहरुलाई विशेष व्यवस्था सहित राज्यको सुविधा उपलब्ध गराउनुपर्ने भन्दै प्रदेश सभाको संसदमा आवाज उठाउनुभएको हो ।

प्रदेशसभाको बैठकमा बिशेष समय माग गरेर सांसद केसीले भौगोलिक विकटता रहेको झिँ र पाखापानी क्षेत्रमा आदीवासी जनजाती एवम् कुइनेमंगले क्षेत्रमा अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेकाले विशेष, स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गरि विशेष व्यवस्था गर्न माग गर्नुभएको हो ।

उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँटमा जानको लागि सहज भौतिक पूर्वाधार नभएकोले त्यस भेगका नागरिकहरुले सदरमुकाम बेनी हुँदै घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको र विशेष व्यवस्थाको लागि आबश्यक मापदण्ड समेत रहेकाले प्रदेश सरकारलाई त्यसतर्फ गम्भिर हुन आग्रह गर्नुभएको थियो । यस अघिको बैठकमा साँसद केसीले बैदेशिक रोजगारीमा देखिएको समस्याको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।