फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

गोपाल छन्त्याल/बेनी
चैत २३ गते ।

nnमालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले खानेपानी निर्माणको अवस्थाबारे स्थलगत रुपमा अनुगमन गर्नुका साथै उपभोक्ता समितिसँग अन्तरसंवाद समेत गरेको छ ।

वासको करीब ३५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको खानेपानीको ७५ प्रतिशत निर्माण कार्य पूरा भएको अनुगमनका क्रममा देखिएको छ । फुलबारीको चुनारेखोलाको मुलबाट ल्याईने पानीको मुल नजिकै रिर्जभ ट्याङकी निर्माण सम्पन्न भईसकेको छ ।

पाइप गाड्ने र पानी वितरणका विभिन्न प्वाइन्टहरु बनाउने कामले तीब्रता पाएको छ । धाराहरु निर्माण गर्ने चरणमा प्रवेश गरेको चुनारे खानेपानी तथा सरसफाई परियोजनाका अध्यक्ष भीमबहादुर बुढाले जानकारी दिए । उनका अनुसार, उक्त परियोजना निर्माण सम्पन्न भएपछि फुलबारीका ७० भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा पुग्ने छ ।

टोलीले फुलबारीको बस्तीलाई स्थानीय रितुङ खोलाको कटानबाट जोगाउन गाउँपालिकाले सञ्चालन गरिरहेको तटबन्ध निर्माणको कार्यको समेत अनुगमन गरेको छ । ९ लाख रुपैयाँको लागतमा बस्तीलाई जोगाउन तारजाली र ग्याविन भर्ने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
यहि गतिमा निर्माण कार्य अघि बढाईए एक महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुने देखिएको गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले बताए ।

‘गाउँपालिकाले गरिरहेको यी दुबै आयोजनाहरु सन्तोषजनक देखियो । केहि प्राविधिक समस्या भए गाउँपालिकाले थप सहयोग गर्न तयार छ’, अध्यक्ष रोकाले भने, ‘अन्य वडाहरुमा पनि हामीले योजना अनुगमनलाई तीब्रता दिनेछौँ ।’ मालिकाले सम्पन्न भइसकेका योजनाको भुक्तानीका साथै बर्खा सिजन भन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्न आयोजनाहरुको अनुगमनलाई तीब्र बनाएको छ ।