कुरीलाखर्क, अग्नीखेतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ११ चैत ।  Kurila Kharka Khanipani 6बेनी नगरपालिका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको महारानी, कुरीलाखर्क, अग्नीखेत मा खानेपानी आपुर्तीका लागि गत माघ तेस्रो हप्तादेखि दश लाख ३३ हजार ९०७ रुपैयाको लागतमा आयोजना निर्माण सुरु भएको थियो ।

नगरपालीकाको आठ लाख ६८ हजार पाँच सय रुपैया अनुदान र उपभोक्ताको एक लाख ६५ हजार ४०७ रुपैयाको श्रमदानमा निर्माण हुने आयोजनाबाट २५ देखि ३० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव सुरेश ढुंगानाले बताउनुभयो । वौद्ध स्तुपा क्षेत्रको सडक माथि रहेको सार्वजनीक जग्गामा १५ हजार लिटर क्षमताको रिजर्भ टंकी निर्माण भएको छ ।
बेनी खानेपानी उपभोक्ता संस्थाको बराहपाखोमा रहेको रिजर्भ टंकीबाट उक्त टंकीमा पानी संकलन गरेर कुरीलाखर्क स्थित दिनेश ढुंगानाको कृषि फार्म भन्दा माथि रहेको अर्को तिस हजार लिटर क्षमत्ताको टंकीमा पानी पुराएर सबै घरमा निजी धारा मार्फत खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो ।

उपभोक्ताहरुले शनिबार श्रमदान गरेर ४५० मिटर मुख्य पाईपलाईन खनेका थिए । रिजर्भटंकीदेखि एक सय मिटर भन्दा उचाइमा रहेको अकौ टंकीमा पानी तान्न समसिवल पम्प खरिदका लागि सम्लायर्ससंग सम्झौता भएको छ ।

ढुङ्गानाले आफ्नो निजी जग्गाको मुहान संकलन गरि वितरणका लागि बनाएको टंकी सामाजिक उपयोगका लागि उपलब्ध गराउनुहुने भएको छ । हाल उक्त टंकीबाट वितरण गरिदै आएको पानीको स्रोत रहेको अग्नीखेतको मुहान सुक्दै र बस्ती बढ्दै जान थालेपछि समस्या भएको थियो ।

पानी तान्ने पम्प सञ्चालन गर्न विद्युत जडानका लागि नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रमा पहल गरिएको छ । केन्द्रले थ्रिफेज लाईन विस्तार गर्न तिन वटा पोल उपलब्ध गराएको छ । थप एक वटा पोल र आठ सय मिटर तारको आवश्यकता रहेको समितिका सचिव ढुंगानाले बताउनुभयो ।

पोल र तारको व्यवस्था भएमा एक हप्ताभित्र आयोजना सञ्चालनमा आउने उपभोक्ता समितिले जनाएको छ । मिटर जडित धारा मार्फत वितरण गरिने खानेपानी उपभोग गरेवापत उपभोक्ताले बेनी खानेपानी संस्थालाई शूल्क बुझाउने सम्झौता भएको छ ।