कतारबाट फर्किएका नारायणले गाउँमा खोले बाख्रा फार्म

विकल्प न्यूज/बेनी
चैत ८ गते । Manis Goat Farmबेनी नगरपालिका ९ आलवाङकामा विदेशबाट फर्कीएका युवाले बाख्रा फार्म सञ्चालन गरेका छन् । एक दशक भन्दा लामो समय विदेशमा काम गरेर फर्कीएका ३६ वर्षिय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गर्नुभएको हो । फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् ।

फार्म स्थापनाका लागि खोर निर्माण र बाख्रा खरिदमा सात लाख रुपैयाँ लगानी भएको शर्माले जानकारी दिनुभयो । उहाँले बाख्रापालन अघि रोजगारीका लागि तेह् बर्ष खाडीमुलुक कतारमा काम गर्नुभएको थियो ।

“आफ्नै घर परिवारसंग बसेर गाउँमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यवसायिक बाख्रापालन सुरु गरेको हुँ” शर्माले भन्नुभयो “खसी, बोका, पाठापाठी र बाख्रा बेचेर हुने आम्दानीबाट सन्तुष्ट छु ।”

चार वर्षअघि स्थापीत फार्मबाट पछिल्लो एक वर्षको अवधिमा २० वटा भन्दा बढी खसी, बोका र पाठापाठी बिक्री गरिसकेका शर्माले फार्ममा माउ बाख्राको संख्या कम्तीमा १०० वटा पु¥याउने लक्ष्य राख्नुभएको छ । उहाँ लगायत परिवारका तिन जनाले फार्ममा रोजगारी पाएका छन् ।

बाख्राको आहराका लागि १२ रोपनी पाखोबारीमा राईखन्यु, बाँस लगायत हिउँदे घाँसका बिरुवा लगाएको शर्माले बताउनुभयो । यसैगरी खेतमा जैघाँस खेती गर्नुभएको छ । उहाँले जिल्ला पशु सेवा कार्यालयबाट बाख्रा पालन सम्बन्धि आधारभुत तालीम लिनुभएको छ । पात्लेखेत, घतान, पिप्ले र बेनीमा बाख्रा बिक्री हुने गरेको छ ।