दरवाङमा नदी नियन्त्रण आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ चैत । Darbang Nadi Niyantran Project (1)म्याग्दी नदीको कटानको चपेटामा परेको मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजार नदी नियन्त्रण आयोजनाको काम सुरु भएको छ । मालीका गाउँपालिकाले नदी कटान नियन्त्रणका लागि किनारमा पक्कि पर्खाल निर्माणको काम सुरु गरेको हो । उपभोक्ता समिति मार्फत नदी नियन्त्रण आयोजनाको काम सुरु भएको गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

नदी नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा गाउँपालीकाले १५ लाख र ६ न. वडा कार्यालयले तिन लाख रुपैया बिनियोजन गरेको थियो । गाउँपालीका र वडाको १८ लाख रुपैया अनुदान तथा उपभोक्ताको दुई लाख रुपैया बराबरको श्रमदानमा आयोजना निर्माण गर्ने लक्ष्य छ ।
म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारीक केन्द्र र दोस्रो सदरमुकामको रुपमा चिनिने दरवाङबजार उत्तरतर्फबाट म्याग्दी नदीले बर्षैनी गर्दै आएको कटानका कारण जोखिममा परेको छ । जनप्रिय मावीको खेलमैदान क्षेत्रमा नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले जानकारी दिनुभयो ।

यस वर्ष बिनियोजन भएको बजेटबाट ३८ मिटर लम्बाईको पर्खाल निर्माण गर्ने योजना छ । जगमा तिन मिटर चाक्लो पिसीसी ढलान गरेर पिरामीड शैलीमा कम्तीमा तिन मिटर चौडाई र चार मिटर उचाई भएको पर्खाल बनाइने भएको छ ।

पर्खाल निर्माणमा मजदुर परिचालन र जनश्रमदान गरेर नदी किनारको ढुङ्गा संकलन गरिएको छ । २५० घरधुरी बजारबासीले प्रतिघर एक दिनका लागि श्रमदान गर्ने भएका छन् । दुई मिटर मिटर भन्दा बढी लम्बाईको पर्खाल बनाउनुपर्ने आवश्यक भएपनी बजेट पर्याप्त नहुँदा योजना अधुरो रहने देखिएको अध्यक्ष गौतमले बताउनुभयो ।

नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले यसअघि ११५ थान ग्यावियन पर्खाल बनाएको छ । म्याग्दी प्रवासी नेपाली संघले गत असोजमा कात्तिकमा भएको तेस्रो अन्तराष्ट्रिय सम्मेलनका क्रममा दरवाङ बजार संरक्षणका लागि सहयोग गर्ने घोषणापत्र जारी गरेको थियो । अहिलेसम्म सहयोग भने नआएको जनाइएको छ ।