कता हराए म्याग्दीका तिन हजार लघुउद्यमी ?

करोडौ लगानीमा सीप र प्रबिधी पाएका अधिकांश लघुउद्यमी निश्क्रिय
सन्तोष गौतम/विकल्प न्यूज
बेनी ५ चैत । IMG_8302म्याग्दीमा चौध वर्षको अवधिमा तिन हजार जना लघुउद्यमी तयार भएका छन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास र २०१४ देखि २०१८ सम्म सञ्चालनमा रहेको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मार्फत तिन हजार ३७ जना लघुउद्यमी तयार भएका हुन् ।

कार्यक्रम सकिएको र स्थानीय तहलाई तथ्याङ्क हस्तान्तरणका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका बजार बिशेषज्ञ रजनी थापाले दुई हजार ५०० जना महिला र ५३७ जना पुरुष उद्यमी रहेका बताउनुभयो ।

करोडौ लगानी गरेर सिपमुलक तालीम, प्रबिधिको सहयोग पाएका आधार भन्दा बढी उद्यमीहरु निश्क्रिय रहेको सरोकारवालाहरुको भनाई छ । स्थानीय स्रोत, साधन, सिप र प्रबिधिको उपयोग गरी उद्यमको विकास मार्फत स्वरोजगार र आयआर्जनको अवसर सिर्जनाका लागि गैरसरकारी संस्था मार्फत सञ्चालन हुदै आएको कार्यक्रमलाई पञ्चवर्षिय रणनिती तयार पारेर स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रम मार्फत म्याग्दीका सबै वडामा स्थानीय प्राकृतिक स्रोत, साधन र सिपको सम्भाव्यता अध्ययन गरी उद्यमीहरुलाई ब्यवसायीक, सिपमुलक तालीम, प्रबिधि र बजारीकरणमा सहयोग गरिदै आएको थियो । IMG_8311म्याग्दीमा अल्लो प्रशोधन गरेर कपडा उत्पादन, नेपाली कागज, ढाका र उनीका कपडा निर्माण, सिस्नो पाउडर उत्पादनका साथै अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्गमा सामुदायीक लज सञ्चालन, तरकारी खेती सम्बन्धि उद्यम व्यवसायमा कार्यक्रमले सघाएको थियो ।

मालीका गाउँपालीकाले लघुउद्यम विकास रणनिती तयार पारेर कार्यान्वयनको तयारी गरेको र धौलागिरी गाउँपालीकाले रणनिती बनाएको थापाले बताउनुभयो । यस वर्ष २०० नयाँ उद्यमी सिर्जना र ३३७ जना पुराना उद्यमीको स्तरोन्नतीका लागि कार्यक्रम सञ्चालनमा रहेको छ ।

३५३ वटा उद्यमी समूहमा आवद्ध उद्यमीहरुको सुबिधाका लागि १३ वटा साझा सुबिधा केन्द्रमा पूर्वाधार बनाइएको थापाले बताउनुभयो । सो अवसरमा थापाले जिसस प्रमुख देवेन्द्र केसी मार्फत घरेलु तथा साना उद्योग विकास समितिलाई उद्यमीहरुको तथ्याङक विवरण उपलब्ध गराउनुभएको थियो ।

जिल्ला समन्वय समितिमा प्रमुख केसी र बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले निम्न आयस्रोत भएकाको जिवनस्तर सुधार र रोजगारी सिर्जनाका लागि स्थानीय तहले लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारी र धौलागिरी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय स्रोत साधन परिचालन गरि आयआर्जनको अवसर सिर्जनाका लागि लघुउद्यम विकास कार्यक्रमको अवधारणा प्रभावकारी पाइएको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले तयार भएका उद्यमीलाई सक्रिय बनाई उनिहरुको उत्पादनलाई बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो । जिसस प्रमुख केसीको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख शिव शंकर झाको स्वागत र लेखापाल निलबहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।