मंगलाको बुकेनीमा स्वास्थ्य ईकाइ स्थापना

  • सन्तोष गौतम/ विकल्प
    म्याग्दी १ चैत ।Bukeni Community Health Clinic 2

म्याग्दीको मंगला गाउँपालीका ४ बुकेनीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ ।
भौगोलिक बिकटताका कारण साविकको गाविस स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर सेवा, सुबिधा लिन कठिनाई झेल्दै आएका गाउँलेको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ईकाईको स्थापना गरीएको हो ।

ईकाईको बिहीबार मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले उद्घाटन गर्नुभयो । ईकाईमा गाउँपालीकाले एक जना अनमी र सरकारले निशूल्क वितरण गर्ने औषधीको व्यवस्था गरेको छ ।

ईकाईबाट बुकेनी, धापुङ, दुर्दी, सोलधारा, थर्पु क्षेत्रका करिब तिन सय घरधुरी लाभान्वित हुने वडा अध्यक्ष ओमबहादुर रोका (रवी)ले जानकारी दिनुभयो । उहाँका अनुसार ईकाईबाट स्वास्थ्य परिक्षण, परामर्श, खोप, निशूल्क औषधी वितरण सम्बन्धि सेवा प्रवाह गरिने भएको छ ।
हल घर भाडामा लिएर स्थापना गरिएको ईकाईका लागि गाउँपालीकाले भवन निर्माण गरिरहेको छ । यसअघि डेढ घण्टा भन्दा बढी हिडेर बरंजा स्वास्थ्य चौकीमा सेवा लिन जानुपर्ने अवस्था थियो । वडाबासी तिस मिनेटमै स्वास्थ्य ईकाईमा पुगेर सेवा पाउन सक्ने भएका छन् ।