विकल्प न्यूज/बेनी
चैत १ गते । म्याग्दीको मालीका गाउँपालिका ६ दुखुबेशीमा लक्ष्य अघिनै सिँचाई आयोजना निर्माण भएको छ । म्याग्दीमा सञ्चालीत दर्जनौ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाई आयोजना भने लक्ष्य भन्दा पाँच महिना अघिनै सम्पन्न भएको हो । सिँचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत गत आर्थिक वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो ।
आगामी असार महिनासम्ममा आयोजना सम्पन्न गर्ने सम्झौता भएपनी निर्माण कम्पनीले माघमै काम सकेको सब डिभिजन प्रमुख ईञ्जिनियर दिनेश आचार्यले बताउनुभयो । समुदायको सहयोग, निर्माण व्यवसायीको सक्रियता र कार्यालयको समन्वयका कारण लक्ष्य अघिनै काम सकिएको उहाँले बताउनुभयो ।
उक्त आयोजना मार्फत ७६५ मिटर नहर निर्माण गर्नका लागि रामकृष्ण कन्ट्रक्सनसंग तिस लाख ५५ हजार ७११ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना मार्फत दुखुबेसीको २५ हेक्टर जमिनमा बाह्ै महिना सिचाई सुबिधा पुगेको छ । दुई सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
यसअघि कच्चि नहरबाट पानी ल्याएर सिँचाई गरिँदै आएको थियो । नहरबाट पानी चुहिएर खेतबारीमा सिँचाई गर्न पर्याप्त पानीको अभावको समस्या थियो । पक्की नहर बनेपछि नरहमा पर्याप्त मात्रामा पानी आपूर्ती भएको र बाह्ै महिना खेतीबाली लगाउन पाएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर पुनले पहिले बताउनुभयो ।
सिँचाई गर्न पालो पर्खनुपर्ने समस्या हटेको छ । पानी लगाउनका लागि उत्पन्न हुने विबादका कारण सामाजिक द्धन्द्ध समेत हटेको छ । खाद्यबालीको उत्पादन बढ्ने कृषकहरुले अपेक्षा गरेका छन् । फलफुल र तरकारीको ब्यवसायीक खेती गरेर आम्दानी गर्ने सम्भावना बढेको छ ।
मुख्य नहर बनेपनि शाखा नहर र पाईप लाईन विस्तारको आवश्यकता देखिएको दुखुबेसीका कृषकहरुले बताएका छन् । सब डिभिजन प्रमुख आचार्यले उपभोक्ता समिति मार्फत शाखा लाईन विस्तार गर्ने योजना बनाएपनि यस वर्ष बजेट कटौतीका कारण समस्या भएको बताउनुभयो । उपभोक्ता समिति मार्फत १२ लाख रुपैयाँको काम गर्ने योजना बनाइएपनि बजेट नआएपछि स्थगित गरिएको उहाँले बताउनुभयो ।