आहा सडक यस्तो पो ! झिँ–पाखापानी सडक दुइ लेनको

सन्तोष गौतम /विकल्प न्यूज
फागुन २९ गते । Jhi Pakhapani Road Bistar झिँमा सडकमा सोलीङ गर्दै स्थानीयबासीन्दा । तस्विर नवविकल्प

झिँ म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाउने काम सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई दश मिटर फराकीलो बनाउन लागेको हो । झिँ र पाखापानी खण्डमा दुई वटा प्याकेजमा छुट्टा छुट्टै आयोजना मार्फत सडक विस्तारको काम भैरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

“सहज रुपमा यातायातका साधन सञ्चालन हुन र जनतालाई सुबिधा पुगोस भनेर सडक फराकीलो बनाएर दुई लेनको बनाउन लागिएको हो” अध्यक्ष भण्डारीले भन्नुभयो “रघुगंगामा पहिले निर्माण भएका सडकलाई फराकीलो बनाउने र नयाँ ट्याक पनि कम्तीमा दश मिटर फराकीलो हुने गरि बनाउन प्राबिधिक र उपभोक्ता समितिलाई निर्देशन दिएका छौ ।”
झिँ खण्डको पाँच किलोमिटर सडक स्तरोन्नतीका लागि गाउँपालिकाले ३१ लख ८५ हजार रुपैयाँ बिनीयोजन गरेको छ । ३५ लाख ४० हजार कुल लागत अनुमान गरिएको आयोजनाको बिस प्रतिशत तिन लाख ५५ हजार ४०० रुपैयाँ बराबरको काम उपभोक्ताले श्रमदान मार्फत गरिरहेका छन् ।

पहिलो चरणमा डोजर प्रयोग गरेर फराकीलो र नाली बनाइएको सडकमा उपभोक्ताले श्रमदान गरेर सोलीङ, कजवे, ग्यावियन र रिटेनीङ वाल लगाउने काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष गोविन्द पाईजाले बताउनुभयो । झिँ गाउँभन्दा तल एक किलोमिटर भन्दा बढी नयाँ ट्याक खोलीएको छ ।

सडक विस्तार गर्दा बस्तीलाई असर पर्नेभएपछि गाउँ तलबाट नयाँ ट्याक खोलीएको अध्यक्ष पाइजाले बताउनुभयो । उहाँका अनुसार साविकका वडाका प्रत्येक घरधुरीलाई एक, एक दिनका लागि श्रमदानमा सहभागी बनाइएको छ ।

पाखापानी खण्डको सडक विस्तारको काम पनि तिब्र रुपमा भइरहेको छ । झिँको सिमाना फुलडाँडादेखि झिगरुक, हुनचेन, पाखापानी, कमनाथ हुदै ठोकलाखोला सम्मको चार किलोमिटर १७५ मिटर सडक पहिलो चरणमा डोजर लगाएर फराकीलो बनाइएको छ । कुनातर्फ कच्चि नाली बनाइएको छ ।

यो योजनाका लागि गाउँपालिकाले चालीस लाख बिनियोजन गरेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । श्रमश्रमदान र मजदुर परिचालन गरेर ग्याबियन पर्खाल, कजवे, पक्कि नाली, रिटेनीङ वालको काम गरिने वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
ठोकलाखोलादेखि ठाडाखानी जोड्ने सडक मर्मत, ट्याक खन्ने र घुम्ती सुधारका लागि गाउँपालीकाले थप एघार लाख बिनियोजन गरेको छ । रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रको सडक फराकीलो बनाएपछि बेनपाले पनि पात्लेखेत क्षेत्रमा सडक विस्तारको तयारी गरेको छ ।
बेनपा ९ तोरीपानीको अलवाङ सम्मको सडक ड्रिलीप आयोजना मार्फत स्तरोन्नती गरिएको थियो । वि.स २०६६ मा पाखापानीमा पुगेको सडक तिन देखि साढे तिन मिटर फराकीलो थियो । सडक फराकीलो र स्तरोन्नती भएपछि हाल दुई देखि तिन घण्टा यात्राअवधि डेढ घण्टामा छोटीने, यात्रा सहज हुने र सवारी तथा ढुवानी भाडादर घट्ने अपेक्षा गरिएको छ ।