माइतीका दुई पाठापाठीले विष्णुलाई बनायो लखपति

सन्तोष गौतम /विकल्प न्यूज

विकल्प न्यूज/बेनी
फागुन २९ गते । bharkha palan दुईचार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका ६ कुटमुनीकी बिष्णु खड्का दंङ्ग पर्नुभएको छ ।

दशक अघि माइतीबाट दुई वटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तिन लाख सम्म आम्दानी गर्नुहुन्छ । “साहुले ऋण नपत्याएर माईतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिए” खड्काले भन्नुभयो “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचे । घर ब्यवहार र छोराछोरीको पढाईखर्च धानीएको छ ।”

 विदेशिएका श्रीमान घर फर्के
वार्षीक दुइ देखि तिनलाख आम्दानी
 घर व्यवहार र छोराछोरी पढाउँन सहज

राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि ८ वर्ष सम्म इराक, साउदी, मलेसीयामा भौतारीएका खड्काका श्रीमान गणेश पनि घर फर्कीएर बाख्रापालनमै लागेका छन् । बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पत्तीले तिन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा’ फार्ममा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् ।

घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । ‘खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन्, ग्राहक घरमै आउँछन्’ गणेशले भन्नुभयो ‘सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट बिदेशमा भन्दा राम्रो भएको छ ।’

बाख्रापालनबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन र घरब्यवहार चलाउन सजिलो तथा दुई, चार हजार आवश्यक पर्दा महँगोमा ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य भएकोमा खड्काले खुसी व्यक्त गर्नुभयो । गरिबी निवारण कोषको सहयोगमा गाउँमा गठन भएको जलेश्वर सामुदायिक संस्थाबाट हालै ४० हजार ऋण लिएर ३ वटा माउ बाख्रा थपेको खड्काले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका गमबहादुर गर्बुजाले पनि स्थानीय दोसल्ले प्रगतिशिल सामुदायिक संस्थाबाट सहुलियत ब्याजदरमा ३४ हजार रुपैयाँ ऋण लिएर बाख्रापालन ब्यवसाय विस्तार गर्नुभएको छ ।

बिदेशको विकल्पमा बाख्रापालन गरेका गर्बुजासंग हाल ४६ वटा बाख्रा छन् । खड्का र गर्बुजा जस्तै म्याग्दीको ग्रामिण क्षेत्रमा गरिब विपन्न समुदाय बाख्रापालनबाट आत्मनिर्भर र स्वरोजगार बनेका छन् ।

गरिबी निवारण कोषको सहयोगमा सामुदायिक संस्थामा स्थापीत घुम्ती कोषबाट सहुलियत ब्याजदरमा बिना धितो उपलब्ध गराइने ऋण बाख्रा, कुखुरापालन, घरेलु उद्यम गर्नेका लागि सहयोगी बनेको छ ।

संगम म्याग्दीद्धारा म्याग्दीका १० वटा वडामा सञ्चालीत गरिवी निवारण कोष कार्यक्रम अन्तरगत गठन भएका ८१ वटा सामुदायिक संस्थाले ८२२ घरधुरी विपन्नलाई तिन करोड ३७ लाख ४२ हजार ५४६ रुपैयाँ ऋण लगानी गरेका छन् ।

बिना धितो ऋण उपलब्ध गराइने भएकाले बैङ्क, वित्तिय संस्थाको पहुँचमा नरहेका दुर्गम ग्रामिण क्षेत्रका विपन्नका लागि घुम्तीकोष बरदान बनेको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य