धिरन खत्री /विकल्प न्यूज
भगवती २८माघ । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधि भण्डारण, प्रसुती, बिरामी उपचार स्थल, प्रशासनीक लगायतका कक्ष रहेका छन् ।
पहिलो तलामा दुई परिवारको आवास सुबिधाका लागि कोठा भनाइएको छ । ठेक्का मार्फत निर्माण सम्पन्न भएको भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
नानाहरी जेभीले ठेक्का पाएको भवन लक्ष्य भन्दा दुई महिनाअघि निर्माण सम्पन्न भएको हो । २०७३ कात्तिक २३ गते २०७५ बैशाख सम्ममा सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्याल मार्फत जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई हस्तान्तरण गर्नुभएको हो ।
वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षता, गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाहीको सञ्चालन, स्वास्थ्यकर्मी प्रदिपकुमार दासको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख केसी, जग्गादाता तथा गाउँपालीकाका अध्यक्ष भबहादुर भण्डारी, डिभिजन प्रमुख अर्याल, निर्माण व्यवसायी शेरचनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भैरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धारीत मितीभन्दा अघिनै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले भवनमा फर्नीचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।
छड, सिमेन्ट लगायत निर्माण सामाग्रीको मूल्य वृद्धीका बावजुद पनि व्यवसायीले निरन्तर मजदुर परिचालन गरेको र समुदायले पनि सहयोग गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको डिभिजन प्रमुख अर्यालले बताउनुभयो ।
सो भवन भुकम्प प्रतिरोधात्मक क्षमत्ताको हो । भवन निर्माणका लागि रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनी भन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराउनुभएको थियो ।
भवबहादुर भण्डारीले साढे छ लाख २५ हजारमा तिन रोपनी, लोकबहादुर भण्डारीले एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको एक लाख रुपैयाँ लगानीमा जग्गा खरिद गरिएको थियो ।
जिर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुई वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडा अध्यक्ष कटुवालले बताउनुभयो । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग बासिन्दाले सेवा लिदै आएका छन् ।